बुधबारदेखि काठमाण्डुको फोहोर नउठ्ने


काठमाण्डु- बञ्चरेडाँडा र सिसडोलका स्थानीयको अवरोधका कारण बुधबारदेखि काठमाण्डुको फोहोर नउठ्ने भएको छ । स्थानीयहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै बुधबारदेखि फोहोर नउठ्ने फोहोरमैला व्यवस्थापन संघले जनाएको हो ।

सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, आदेशको अवज्ञा गर्दै स्थानीयले फोहोर बोकेर जाने गाडीमा अवरोध गरेका हुन् ।

संघका अनुसार सोमबार ३० वटा फोहोर बोकेका गाडी ल्याण्डफिल साइट जाँदा बाटोबाटै फर्केको थियो । तर, मंगलबार फोहोर बोकेको गाडी काठमाण्डुबाट नै नगएको हो । काठमाण्डु उपत्यकाबाट दैनिक फोहोर बोकेको करिब ३८० वटा ट्रक बञ्चरेडाँडा जाने महानगरले जनाएको छ । संघका सचिव मित्र घिमिरेका अनुसार सोमबार र मंगलबारको फोहोर टेकु ट्रान्सफर स्टेशन र गाडीमै राखिएको छ । जसका कारण बुधबारदेखि फोहोर उठाउन समस्या हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement