काठमाण्डु – रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढीस्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण सम्पन्न भएको छ ।
पुनर्निर्माण कार्य पूरा भएसँगै पुलबाट आवतजावत पूर्णरूपमा सञ्चालनमा आएको सरकारले जनाएको छ ।
बाढीबाट क्षतिग्रस्त पुलका बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने तथा स्टिल डेक र बिम जडान गर्ने काम सम्पन्न गरी बुधबार जाली राख्ने कार्यसमेत पूरा गरिएको हो । त्यसपछि पुल सञ्चालनमा ल्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तथा मर्मत कार्यलाई तीव्रता दिएको छ ।
सरकारको तीव्र पहलकदमीका कारण धादिङ, नुवाकोट र गोरखामा रहेका थप १२ वटा झोलुङ्गे पुलको मर्मत कार्यसमेत अन्तिम चरणमा पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।




प्रतिक्रिया