चिसो बढ्नासाथ यस्ता लक्षण देखिएका त छैनन् ? पिनास भएको हुनसक्छ है !

 चिसो बढ्नासाथ यस्ता लक्षण देखिएका त छैनन् ? पिनास भएको हुनसक्छ है !


काठमाण्डु–पिनास भनेको नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वास प्रश्वासमा बाधा पुर्‍याउने एक किसिमको रोग हो । जसलाई ‘साइनोसाइटिस’ पनि भनिन्छ । साइनोसाइटिस साइनस हरुको इन्फ्लामेसन (जलन) हो ।

पिनासले जाडो मौसममा धेरै नै दुःख दिन्छ । रुघाखोकी लाग्दा केही नभएको भनी लापरवाही गर्नाले पिनास हुन्छ । यसबाहेक पनि धूलोधुवाँ, नाकमा हुने संक्रमण, विभिन्न किसिमका एलर्जीहरू, नाकभित्रको हड्डी बांङ्गिनु, नाकभित्र मासु पलाउनु पनि पिनास हुनुका कारण हुन सक्छन् ।

टाउको दुख्नु वा रुघाखोकी लाग्दा पिनासकै कारणले मात्र नहुन पनि सक्छ। टाउको दुख्नुको ८० प्रतिशत कारण पिनास नहुन सक्छ। यसको अर्थ टाउको दुख्ने व्यक्तिहरु मध्ये २० प्रतिशतमा भने पिनास भएकाले टाउको दुख्ने समस्या हुनसक्छ।

पिनासका प्रकार

तीव्र पिनास – पिनास ग्रन्थिहरू एकाएक सुन्निएर प्रदाहात्मक हुने र चार हप्ताभित्र आफैं ठीक हुने पिनासलाई तीव्र पिनास भनिन्छ।
मध्यम पिनास- चार हप्ताभन्दा ज्यादा तर १२ हप्तासम्म लम्बिने पिनासलाई मध्यम पिनास भनिन्छ।
जीर्ण पिनास- १२ हप्ताभन्दा लामो समयसम्म रहने पिनासलाई जीर्ण पिनास भनिन्छ।
आवर्तक तीव्र पिनास- लामो, एक वर्षमा चार वा धेरैपटक दोहोरिने तीव्र पिनासलाई आवर्तक तीव्र पिनास भनेर भनिन्छ।

पिनासका कारण

एलर्जी, नाकमा मासु पलाउनु, नाकको हड्डी बांगिनु, नाक, कान, घाँटी र दाँतको संक्रमण हुनु, माथिल्लो श्वासमार्गको संक्रमण हुनु पिनास हुनुका कारण हुन्। यसै गरी भाइरसको संक्रमण जस्तै– राइनो भाइरस, कोरोना भाइरस, इन्फ्लुएन्जा भाइरस, एडिनो भाइरस, प्यारा इन्फ्लुएन्जा भाइरस, इन्टेरो भाइरस आदि पनि पिनास हुने कारण हुन्।

पिनासको लक्षण
-नाकमा रुघा लाग्ने,
-नाकबाट सिगान बगिरहने,
-नाक बन्द हुने,
-गन्ध थाहा नपाउने,
-नाक बन्द हुने।
-नाक वा आँखाको वरीपरि दुख्ने
-घाँटी खसखसाउने,
-थकान हुने,
-श्वास गन्हाउने,
-हाच्छ्युँ आउने,
-अनुहार सुन्निने आदि पनि पिनासका लक्षण हुन्।

पिनास दुखाई कम गर्न के गर्ने ?

-तातो दुध र वेसार सर्वोत्तम औषधी हो ।
-आराम गर्ने ।

-चिसोबाट जोगिने, चिसो नपिउने प्रशस्त मात्रामा झोल पदार्थ (मनतातो पानी, सुप, दालको रस) आदि सेवन गर्ने ।

पिनासबाट बच्ने उपाय 
माकुराको जालो, फूलको पोलन, चिसो, ढुसी, धूवाँ, धूलो, घोडाको लिदी, पशुको भुत्ला, पक्षीको प्वाँख आदि एलरजेनहरूसँग बच्नुपर्छ। त्यस्तै ढुसी, झ्याउ, लेउ लाग्न सक्ने फर्निचर एवं सामानहरूलाई नियमित सरसफाइ गरिरहनुपर्छ। जस्तै– गद्दा, सोफा, कार्पेट, गलैंचा, डोरम्याट, पर्दा, रुमाल आदिको सफा गर्नुपर्छ।

त्यसै गरी परफ्युम, अत्तर आदिको बासनाले पनि धेरैलाई एलर्जी हुनसक्छ। दूषित वायुमा जस्तै– धूवाँ, धूलो, धूमपान, आद्र वायुबाट बचौं। घरमा हावा गुम्सिन नदिऔं, भएको भेन्टिलेसन प्रणालीलाई चुस्त राखौं। जाडोको मौसममा कम तापमान र आद्र हावामा पिनास ग्रन्थिहरूको संक्रमण हुन सक्छ, तसर्थ जाडोबाट बचौं। यसै गरी, अति उष्ण तापक्रममा पनि श्वास लिँदा पिनास हुन सक्छ। तनाव, अनिद्रा, डर, चिन्ता, उदासीनता र नैराश्यता आदिबाट पनि बच्ने गरौं।

लामो समयसम्म पिनासको समस्या देखिएको छ भने चिकित्सकको परामर्शमा औषधि उपचार तथा शल्यक्रिया नै गरेर उपचार गर्नुपर्ने हुन्छ। किनकी पिनासको समयमा उपचार भएन भने नाकभित्र मासु पलाउने, टाउको दुखिरहने, कान बन्द भइरहने समस्या बढ्दै जान्छ।