लुक्ला विमान दुर्घटना : मृतकको संख्या ३ पुग्यो


सोलुखुम्बु – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान हेलिकप्टरसँग ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । २ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारको लागि काठमाडौं ल्याउँदा मृत्यु भएको हो ।

समिट एयरका को–पाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भइसकेको थियो । अर्का असई रुद्रबहादुर श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जहाजमा चालकदलबाहेक यात्रु भने थिएनन् । हेलिकप्टर दुर्घटनामा अन्य ३ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर. लामा र ४ यात्रुको अवस्था भने सकुशल रहेको छ ।

लुक्लाबाट काठमाडौं आउनका लागि समिट एयरको जहाजले टेकअप लिन खोज्दा धावनमार्गमा चिप्लिएर लुक्ला विमानस्थलमा पार्किङमा रहेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement