काठमाण्डु – सरकारले शनिबारदेखि २० वर्षे वृक्षरोपण महाअभियानको शुरुआत गर्दैछ । ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा गरेको सरकारले सन् २०४५ सम्म यो अभियानलाई निरन्तरता दिने छ ।
अन्तर्राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर शनिबारदेखि २० वर्षे महाअभियानको शुरुआत गर्न लागिएको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जानकारी दिए ।
वृक्षरोपण महाअभियानको उद्घाटन ललितपुरको गोदावरीमा रहेको जिल्ला वन कार्यालय परिसरमा हुँदैछ ।
वनमन्त्री शाहीका अनुसार महाअभियानका क्रममा नेपालको पूर्ण जनसङ्ख्या अनुसार एक व्यक्ति एक बिरुवा पर्ने गरी हरेक वर्ष तीन करोड बिरुवा २० वर्षसम्म निरन्तर रोपण गरिने छ ।
असार १४ देखि साउन १५ सम्म एक महिना उपयुक्त जग्गामा वृक्षरोपण गरिनेछ । त्यसअनुसार २० वर्षसम्म ६० करोड बिरुवा रोपिनेछ ।
विशेषगरी स्थानीय परम्परागत र फलफूलजन्य बिरुवा रोपिनेछ । रोपिएका हरेक बिरुवामा नागरिकको स्वामित्व र संरक्षण हुने गरी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य छ ।
सरकारले जैविक विविधता संरक्षण, हिमाल संरक्षण र कार्बन उत्सर्जन कम गर्ने नीति लिएको छ । नेपालको वन क्षेत्रले अहिले कुल भू–भागको झण्डै ४५ प्रतिशत ढाकेको अनुमान छ ।
महाअभियान अन्तर्गत सङ्घ, प्रदेश र पालिकाको सहकार्यमा वृक्षरोपण हुनेछ । त्यसका लागि सम्बन्धित प्रदेश तथा पालिकाको जिल्ला वन कार्यालयका नर्सरीमा निःशुल्क बिरुवा प्रदान गरिने छ ।
जेठ २ गतेदेखि ४ गतेसम्म काठमाण्डुमा सम्पन्न सगरमाथा संवादको आह्वान अनुसार यो महाअभियान सञ्चालन गर्ने मन्त्रीस्तरीय निर्णय भएको थियो ।
नेपालको संविधान २०७२ मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरिएको साथै वन, जङ्गल, वन्यजन्तु, वातावरण तथा जैविक विविधताका विषयहरू सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा समावेश छन् ।
यसै सन्दर्भमा, आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा सामुदायिक वन तथा राजमार्ग किनार, खोला किनार, पर्ती जमिन, विद्यालय तथा कार्यालय प्राङ्गण, सार्वजनिक तथा निजी जग्गामा फलफूल, जडिबुटी तथा उच्च मूल्यका वनस्पतिको वृक्षारोपण गर्न नागरिक तथा समुदायलाई प्रोत्साहन गरिने उल्लेख छ । सोही विषयका आधारमा समेत यो महाअभियान सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया