एसियन गेम्सका उत्कृष्ट राष्ट्रिय खेलाडीलाई सम्मान


काठमाण्डु – दीपावली स्नेह मिलन समारोह २०८० तथा १९औं एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीको सम्मान कार्यक्रम गरिएको छ ।

मारवाडी समाजको धार्मिक एवं सामाजिक परम्परा अनुसार समाजका सदस्यहरू भेला भई एकआपसमा शुभकामना आदानप्रदान गरी कार्यक्रम गरिएको छ ।

आपसी भाइचाराको सम्बन्ध अभिवृद्धिका लागि हरेक वर्ष दीपावली स्नेह मिलन समारोह मनाउँदै आइरहेकोमा यस वर्ष पनि मारवाडी सेवा समिति नेपाल, श्री पशुपति गौशाला धर्मशाला, मारवाडी सेवा ग्राम गौधाम (धार्के) मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चसहित समाजका व्यक्तिहरूको उल्लेख्य सहभागितामा अर्पण ब्याङ्क्वेट नयाँ बानेश्वरमा कार्यक्रम गरिएको छ ।

मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले आगन्तुकको स्वागत गर्दै शुभ दीपावली, नेपाल संवत्, छठ पर्व २०८० को शुभकामना दिए । उनले आफ्नो शुभकामना मन्तव्यको क्रममा मारवाडी सेवा समिति नेपालले सामाजिक, राजनीतिक, धार्मिक, शैक्षिक, साँस्कृतिक, आर्थिक एवं प्राकृतिक आपतविपतमा पुर्‍याउँदै आइरहेको सेवा कार्यबारे उल्लेख गर्दै जाजरकोट र पश्चिम रुकुममा केही दिनअघि गएको विनाशकारी भूकम्पमा परी ठूलो जनधनको क्षति भएकोमा मारवाडी सेवा समिति नेपालको तर्फबाट राहत पठाउने कार्य भइरहेको बताए ।

पहिलो चरणमा फाइबरको सिरक ८३५ थान, पिफम मेट ९०० थान र दाल १ किलो र नून १ किलो राखेर प्याक गरिएको ४०० प्याकेट चामल हस्तान्तरण गरिएको उनले बताए ।

मारवाडी सेवा समिति नेपालले उत्सव एवं समारोहमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई सम्मान गर्दै आइरहेकोमा १९औं एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीको सम्मान कार्यक्रम राखिएकोमा १९औं एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ नेपाली खेलाडीले एउटै म्याचमा अति नै दुर्लभ ५ वटा विश्व कीर्तिमान बनाई विश्वसामु नेपाल र नेपालीको शिर उच्च पार्न सफल भएकोमा क्रिकेट म्याचमा ९ बलमा अर्धशतक बनाई विश्व कीर्तिमान बनाउन सफल दिपेन्द्रसिंह ऐरी र ३४ बलमा शतक बनाई विश्व किर्तिमान बनाउन सफल कुशल मल्ललाई सम्मान गरिएको छ । खेलाडीको हौसला एवं सम्मान स्वरूप जनही १ लाख १ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।

कराँते खेलतर्फ नेपाललाई रजत पदक दिलाई नेपालीको शिर उच्च पार्नमा सफल भएकी एरिका गुरुङलाई पनि १ लाख १ हजार नगदसहित सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ । कार्यक्रममा नेपाल क्रिकेट एशोसिएशन र क्रिकेट टीमका सम्पूर्ण खेलाडीलाई सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरिएको छ ।

मारवाडी समाजका सदस्यहरू एवं नेपाल राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पवन अग्रवाल र पूर्व क्रिकेटर पारस लुनियालाई सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरिएको छ । मारवाडी सम्मान कार्यक्रमको सञ्चालन मारवाडी युवा मञ्चका महासचिव प्रकाशकुमार केजरीवालले गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, मारवाडी महिला मञ्चकी अध्यक्ष अर्चना काबराज्यू, मारवाडी युवा मञ्चका अध्यक्ष शैलेन्द्र शर्माले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको अन्त्यमा उपस्थितहरूलाई दीपावली स्नेह मिलन समारोह २०८० तयारी समितिका संयोजक रमेश तापड़ियाले धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सञ्चालन मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोदकुमार अग्रवालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement