काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पनि प्रचण्डले दिएको अभिव्यक्तिको बचाउ गरेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै असार १५ गते काठमाण्डुमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेको भन्दै प्रधानमन्त्री प्रचण्डको बचाउ गरेका हुन् । उनले जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेश लगत्तै सम्माननीय प्रधानमन्त्री प्रचण्डसँग सरदार सिंहको भेटघाट र चिनजान भएको बताए ।
‘प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट संक्रमित भएपछि ०६७/०६५ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उहाँको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उहाँको भारतमा आउजाउ हुने गरेको थियो । सोही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका सुपुत्र प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको र उहाँहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको थियो ।’, विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै प्रेस सल्लाहकार आचार्यले प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय भएको दाबी गरेका छन् । ‘संसदमा प्रष्टीकरणको मौकासमेत नदिई उहाँको भनाइको आशय विपरीत एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ । दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ’, विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै सत्ता गठबन्धन दलहरुपनि प्रधानमन्त्री प्रचण्डले दिएको विवादास्पद अभिव्यक्तिको बचाउमा लागेका छन् । बिहीबार बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री सचिवालय र सत्ता गठबन्धन बचाउमा लाग्दा नेकपा एमालले भने प्रधानमन्त्री प्रचण्डले देशविरोधी अभिव्यक्ति दिएको भन्दै तत्काल राजिनामा दिन माग गरेको छ । नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिएसम्म संसद बैठक चल्न नदिने अडान राखेको छ । प्रधानमन्त्री प्रचण्डले गलत अभिव्यक्ति दिएको भन्दै सत्ता पक्षकै सांसदहरुले पनि आलोचना गरिरहेका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डले गलत अभिव्यक्ति दिएको बताएका छन् ।
‘नेपालको प्रधानमन्त्री नेपालको संसद्ले चयन गर्दछ र गर्ने हो। मित्रराष्ट्रलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलतः प्रधानमन्त्रीकै हो।’ यस विषयमा प्रमुख प्रतिपक्षी एमालेसहितका अन्य दलहरूले प्रश्न उठाउनु स्वाभाविक भएको शर्माले बताए। ‘प्रश्न हामी नै उठाइरहेका छौं। प्रतिपक्षको त मूल कर्तव्य नै हो,’ उनले भनेका छन्, ‘आलोच्य अभिव्यक्तिको आलोचना जरुरी छ।’, बुधबार सञ्जालमा ट्वीट गर्दै उनले भनेका थिए ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि विवादित बनेका छन्। सोमबार नेपालमा पहिलोपटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि करनदीप सिन्धुले लेखेको ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो विवादास्पद अभिव्यक्ति दिएका थिए।
‘यो यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली जानु पनि भयो। काठमाण्डुका पार्टीहरूलाई, नेताहरूलाई पार्टीहरूसँग पनि उहाँ लगातार छलफल गर्नुभो। उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ। म शान्ति प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट, हुन त हाम्रो कमरेड पम्फा भुसाल हुनुहुन्छ उहाँको नजिकै घर भएका हुनाले पनि लगातार अन्तरक्रिया, सहकार्य हुने गर्यो। र हामीले नजिकबाट एक अर्काले चिन्ने, बुझ्ने र महसुस गर्ने पनि गर्यो।’, उनले भनेका थिए ।
प्रधानमन्त्री प्रचण्डको यो अभिव्यक्तिपछि प्रधानमन्त्री दाहालले नेपाली सार्वभौमिकताको विरुद्धमा संसद्को समेत अपमान हुनेगरि अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
यो पनि पढ्नुहोस्, प्रधानमन्त्री प्रचण्ड विवादमा तानिएपछि सरदार सिंहले खोले मुख




प्रतिक्रिया