प्रधानमन्त्री प्रचण्ड विवादमा तानिएपछि सरदार सिंहले खोले मुख


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिएको अभिव्यक्ति विवादित भइरहँदा सो विषयसँग सम्बन्धित सरदार प्रितम सिंहले मुख खोलेका छन् । बुधबार एभरेस्ट होटलमा आयोजित एक कार्यक्रममा बोल्दै सरदार सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको बताएका हुन्।

‘हामीप्रति माया देखाउनलाई त्यसो भन्नुभएको होला। प्रधानमन्त्री बनाउन दिल्ली धाएको कुरा सत्य होइन।’, उनले भने । आफू प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको बरु भारतले नेपालमा नाकाबन्दी गरेका बेला दुई देशबीचको सम्बन्ध सुधारका निम्ति भारत गएको उनले बताए ।

उनले आफ्नो सम्बन्ध पारिवारिक मात्र भएको र प्रधानमन्त्री प्रचण्डले बोलेका कुरा राजनीतिक नभएको स्पष्ट पारेका छन्। भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको खुलाएका थिए ।

‘उहाँ (प्रतिम सिंह) ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाण्डुमा नेताहरुसँग लगातार छलफल गर्नुभयो,’ प्रचण्डले भनेका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले आपत्ति जनाएका छन् । नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डले देशविरोधी अभिव्यक्ति दिएको भन्दै राजिनामा मागेको छ । प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिएसम्म संसद बैठक चल्न नदिने अडान एमालेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement