पेरिस- बितेको महिना फ्रान्सका सयौँ सुपरमार्केटका फ्रिज र फ्रीजरको तापक्रम ह्याकरहरूले टाढैबाट बढाइदिएपछि ठूलो परिमाणमा खाद्य सामग्री नष्ट भयो । फ्रान्सले अनुसन्धानपछि यसमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) अन्तर्गतको साइबर समूह संलग्न रहेको आरोप लगाएको छ। पेरिसले इरानी राजदूतलाई बोलाएर विरोध जनाएको छ । उसले दोषीमाथि युरोपेली तहमा प्रतिबन्ध लगाउने पनि बताएको छ।
तर नोभेम्बर २ मा बेल्जियम, स्विडेन, लक्जेम्बर्ग र अन्य युरोपेली देशका पसलमा भएका पछिल्ला फ्रिजसम्बन्धी घटनाको जिम्मेवार को हो भन्ने अझै खुलेको छैन। फ्रान्सले अक्टोबरको आफ्नै आक्रमणमा इरानलाई दोष दिएको थियो। त्यसपछि फैलिएका सबै घटनालाई एउटै समूह वा देशसँग जोड्ने गरी युरोपेली मुलुकले प्रमाण भेट्टाउन सकेका छैनन्।
फ्रिजको तापक्रम कसरी बदलियो?
सुपरमार्केटका ठूला फ्रिज र फ्रीजरहरू प्रायः डिजिटल नियन्त्रण प्रणालीमार्फत चल्छन्। तापक्रम, कम्प्रेसर र डिफ्रोस्ट (बरफ पगाल्ने) प्रक्रिया त्यही नियन्त्रण प्रणालीबाट मिलाइन्छ। प्रणालीलाई टाढाबाट अनुगमन सुविधा भए पनि इन्टरनेटसँग सुरक्षित रूपमा जोडिएका नियन्त्रण प्यानल वा पुराना सफ्टवेयर कमजोरी बनेका हुन सक्छन्।
फ्रान्सको अक्टोबर ११–१२ को घटनामा आक्रमणकारीहरूले पसलका चिस्यान प्रणालीमा अनधिकृत पहुँच बनाएर तापक्रम नियन्त्रण ओभरराइड गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ।
केही फ्रिजको तापक्रम करिब छ घण्टासम्म ५० डिग्री सेल्सियस पुगेको थियो। त्यसपछि ताजा र जमेको खाद्य सामग्री बिक्रीयोग्य नरहेकाले पसलहरूले फाल्नुपर्यो। फ्रान्सेली अधिकारीका अनुसार त्यसबेला करिब ७०० सुपरमार्केट प्रभावित भए । समाचार एजेन्सी एपीका अनुसार एउटा प्रमुख चेनले एकै दिनको घाटा करोडौँ युरो पुगेको बताएको थियो। साइबर सुरक्षा विशेषज्ञहरूले पुराना वा अपडेट नगरिएका नियन्त्रण उपकरण र इन्टरनेटमा ह्याकिङ गरेर यो सबै सम्भव गरिएको बताएका छन्।
इरानको नाम कसरी जोडियो?
फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकाय अन्सिईले अक्टोबरको आक्रमणलाई साहिद काभेह नामक साइबर इकाइसँग जोडेको थियो। फ्रान्सेली अधिकारीहरूले उक्त समूहलाई इरानको आईआरजीसीसँग आबद्ध बताएका छन्।
पेरिस अभियोजन कार्यालयले विदेशी शक्तिको हितमा गरिएको हुनसक्ने साइबर आक्रमण र संगठित अपराधको आशंकामा औपचारिक अनुसन्धान थालेको छ। अनुसन्धानकर्ताहरूले फारसी भाषाका डिजिटल चिह्न, इरानमा रहेका उपकरणसँग जोडिएका आईपी ठेगाना र अन्य प्राविधिक संकेतलाई आरोपको आधारका रूपमा प्रस्तुत गरेका छन्।
फ्रान्सका विदेशमन्त्री जो–नोएल बारोले यो आक्रमणलाई फ्रान्सेली भूमिमा भएको ठूलो स्तरको साइबर तोडफोड भन्दै दोषीमाथि युरोपेली प्रतिबन्ध लगाउने बताएका छन्। फ्रान्सको विदेश मन्त्रालयले त्यहाँस्थित इरानी राजदूतलाई बोलाएर विरोध जनाइसकेको छ।
राजदूतलाई बोलाउनु कूटनीतिक रूपमा अर्को देशको सरकारसमक्ष औपचारिक आपत्ति राख्ने कदम हो, तर यसले आफैंमा इरानले आरोप स्वीकार गरेको पुष्टि गर्दैन। फ्रान्सेली अभियोजनकर्ताले समूहका प्रमुख र दुई उपप्रमुखमाथि अनुसन्धान अघि बढाएको तथा अन्तर्राष्ट्रिय पक्राउ पुर्जी मागेका छन्।
फ्रान्सले यो आरोप आफ्नोअनुसन्धानबाट आएको निष्कर्षका आधारमा लगाएको हो। अहिलेसम्म इरानले यस्तो साइबर कारबाही गरेको स्वीकार गरेको छैन। तेहरानले सामान्यतया साइबर आक्रमणका आरोप अस्वीकार गर्दै आएको छ।

युरोपका अरू देशमा के भयो?
नोभेम्बर २ मा बेल्जियम, लक्जेम्बर्ग, स्विडेन, आयरल्यान्ड र अन्य युरोपेली बजारका पसलहरूले फ्रिज तथा फ्रीजर प्रणालीमा समस्या आएको बताए। केही ठाउँमा तापक्रम बढेपछि खाना फाल्नुपर्यो। बेल्जियममा डेल्लाहाइज, कोर्ल्युट समूहका पसल, स्विडेनका आईसीए र कुप तथा आईकेईएको कम्तीमा एउटा स्टोर प्रभावित भएको रोयटर्सले जनाएको छ। आयरल्यान्डमा सुपर भ्यालुका १३ स्टोरमा असर परेको छ। केही प्रभावित प्रणालीमा फ्रिज नियन्त्रण उपकरण निर्माता डानफोसको प्रविधि प्रयोग भएको थियो।
फ्रान्सेली अधिकारीहरूले अक्टोबरको आक्रमणमा इरानसम्बद्ध समूहको हात रहेको बताए पनि नोभेम्बरको युरोभरको घटनालाई त्यही समूहले गरेको भनेर पुष्टि गरेका छैनन्। रोयटर्सले पनि ती घटनाहरू आपसमा सम्बन्धित छन् कि छैनन् भन्ने पुष्टि गर्न नसकेको जनाएको थियो।
किन फ्रिजलाई निशाना ?
साइबर आक्रमणको असर कम्प्युटर नेटवर्कमै सीमित हुँदैन। पसलको फ्रिज, ताप नियन्त्रण, ढोका पहुँच प्रणाली वा सुरक्षा क्यामेरा जस्ता उपकरण डिजिटल नियन्त्रणमा आएपछि तिनलाई ह्याक गरेर वास्तविक कारोबार अवरुद्ध गर्न सकिन्छ। सुपरमार्केटमा खाद्य सामग्री नष्ट हुँदा आर्थिक घाटा मात्र हुँदैन, आपूर्ति शृंखला र उपभोक्ताको विश्वासमा पनि असर पर्न सक्छ। युरोपेली आयोगका कृषि आयुक्त क्रिस्टोफ हान्सेनले यस्ता आक्रमणले खाद्य आपूर्ति शृंखला अवरुद्ध गर्ने र उपभोक्ताको विश्वास कमजोर पार्ने जोखिमबारे चेतावनी दिएका छन्।
साइबर सुरक्षा विश्लेषकहरूले सामान्यतया यस्ता आक्रमणका सम्भावित उद्देश्यमा आर्थिक फिरौती, राजनीतिक सन्देश वा राज्यसम्बद्ध तोडफोड हुन सक्ने बताउँछन्। तर पछिल्ला फ्रिज घटनामा फिरौती मागिएको सार्वजनिक विवरण छैन। यसले तोडफोड वा राजनीतिक उद्देश्यको आशंका बढाएको छ।
फ्रान्समा सुपरमार्केट घटनापछि केही रक्त केन्द्रका चिस्यान प्रणालीमा पनि तापक्रम बढाउने प्रयास भएको समाचार आएको छ। फ्रान्सको रक्त सेवा संस्थाका अनुसार निगरानी प्रणालीले समस्या छिट्टै पत्ता लगाएकाले रगतका नमुना वा प्लाज्मामा क्षति नपुगेको जनाएको छ। यस घटनामा पनि अनुसन्धान भइरहेको जनाइएको छ।
फ्रिज ह्याकको घटना त्यसैले एउटा उपकरण बिग्रिएको विषय मात्रैका रुपमा युरोपेली मुलुकले लिएका छैनन्। डिजिटल प्रणालीमा जोडिएका खाद्य भण्डारण र स्वास्थ्य सेवाका उपकरणलाई कसरी सुरक्षित राख्ने भन्ने युरोपेली देशको टाउको दुखाइ बनेको छ। फ्रान्सले अक्टोबरको सुपरमार्केट आक्रमणमा आईआरजीसीसम्बद्ध समूहलाई दोष दिएको छ । नोभेम्बरमा विभिन्न युरोपेली देशमा फ्रिजसमाथिका नयाँ आक्रमणका घटनाको जिम्मेवारको अझै पहिचान भएको छैन।


प्रतिक्रिया