पूर्वप्रधानमन्त्रीकै यौन भिडियो टेलिभिजनमा प्रशारण भएपछि….


नारायण पौडेल

सन् २०१६ को अप्रिल पहिलो साता । रुसी टेलिभिजन एनटिभीले भिडियोसहित फुक्योः पूर्वप्रधानमन्त्री परस्त्रीसँग यौनक्रिडामा । खबर आगो सरी फैलियो । लाखौँ मानिस आँखा नझिम्काइ टेलिभिजन सेट अघि झुम्मिए । पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता मिखाइल क्यासानोभ आफ्नै सहकर्मी नाटालियासँग नाङ्गिरहेका थिए । गोप्य क्यामराले क्यासानोभको बिस्तारामा खिचेको सो भिडियोले भविश्यमा राष्ट्रपतिसम्म हुने ठानिएका क्यासानोभको आदर्श धुजाधुजा पारिरहेको थियो ।

आमरुपमा क्यासानोभको छबी भ्रष्टाचार बिरोधी, बिकासप्रेमी र पारदर्शी नेताको रुपमा स्थापित थियो । उनी भष्ट्राचार बिरुद्ध आगो ओकल्थे । प्रशासक, अर्थमन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री हुँदै उनी शक्तिशाली राष्ट्रपति भलाद्मिर पुटिनलाई टक्कर दिने हैसियतमा पुगेका थिए । पुटिनको दाहिने हातका रुपमा चिनिने क्यासानोभ भ्रष्टाचार, आर्थिक नीति र पारदर्शीताका सवालमा विमती जनाउँदै नयाँ पार्टी निर्माणमा लागेका थिए । पुटिनलाई पछार्ने पात्रका रुपमा क्यासानोभलाई हेरिएको थियो ।

तर, बिबाहित क्यासानोभलाई परस्त्रीसँगको भिडियोले नमज्जाले पछार्यो । यौन उन्मादमा क्यासानोभ नाटालियालाई आश्वस्त पार्दै थिए–धैर्य गर प्यारी, पूरा राजनीति तिम्रो वरिपरि घुमाइदिनेछु ।

रुसी राजनीतिमा एउटा शब्द वा षडयन्त्र लोकप्रिय छः कम्प्रोम्याट । भौतिक कुरासँग सम्झौता अर्थात कम्प्रोमाइज गरेको भन्ने अर्थ लाग्ने यो शब्दको राजनीतिक र साँस्कृतिक अर्थ भने ब्यापक छ । कसैलाई आमरुपमा नस्ट गर्न पर्यो भने उसले यौनका सवालमा गरेको सम्झौता वा रोमान्सलाई बाहिर ल्याउने षडयन्त्रलाई कम्प्रोम्याट भनिन्छ । क्यासानोभ कम्प्रोम्याटको सिकार भए ।

क्यासानोभको नीजि अपार्टमेन्टभित्र गरिएको यौनक्रिडा कस्ले छायाँकन ग¥यो ? कसरी ग¥यो ? किन ग¥यो ? भिडियो कसरी टेलिभिजनसम्म पुग्यो ? प्रश्न अनेक उठेपनि प्रहार क्यासानोभ र नाटालिया बाहेक अरुले खेप्नु परेन । सहज अनुमान हो–खुबिया एजेन्जीमार्फत राष्ट्रपति पुटिनले सो भिडियो कैद गराएका थिए ।

१२ मे २०११ का दिन दुनियाँका सामू यस्ती महिला प्रस्तुत भइन जो कहिल्यै सुनिएकी थिइनन् । नाफिसाटो डियालो नाम गरेकी श्यामस्वत बर्णकी महिला एकाएक अन्तराष्ट्रिय समाचार माध्यममा ब्रेकीङ समाचारका रुपमा छाइन् । न्युयोर्कको एक होटलमा सरसफाइको काम गर्ने ती महिलाले एक ग्राहकले आफूमाथि बलत्कारको प्रयास गरेको उजुरी दिइन् । आरोपित व्यक्ति थिए–अन्तराष्ट्रिय मुद्रा कोषका निर्देशक डोमिनिक स्ट्रस खाँ ।

अन्तराष्ट्रिय मुद्रा व्यवश्थापनमा प्रभावकारी कदम चालेर आर्थिक क्षेत्रमा ख्याती कमाएका खाँ फ्रान्सको भावि राष्ट्रपतिका रुपमा गनिएका थिए । १५ बर्षिय छोरीकी आमा समेत रहेकी ३२ बर्षिय डियालोमाथि बलत्कारको प्रयास गरेको आरोपमा खाँ बिमानस्थलबाट पक्राउ परे । उनको गिरफ्तारीले न्यूयोर्क र पेरिसमात्र तातेन, समग्र विश्व तरँगित भयो ।

बहुचर्चित सो घटनाको पटाक्षेप भने भिन्दै हिसावले भयो । अफ्रिकी देशबाट अमेरिका आएर अमेरिकामा शरणार्थीका रुपमा बसेकी डियालोले विगतमा अमेरिकामा शरण पाउनाका लागि असत्य कथा रचेको पाइयो । कर छली, संकास्पद कारोबार आदिजस्ता पृष्ठभूमीका कारण उनीप्रति प्रहरी, न्यायाधीवक्ता र अदालत सशंकित देखिए । गहन अनुसन्धान र अनेक कागजातका आधारमा उनले खाँलाई लगाएको आरोप सत्य हो भनेर विश्वास गर्न नसकिने निश्कर्ष निकालियो । खाँले डियालोको आरोपबाट मुक्ति पाएपनि उनको जीबनमा लागेको डडेलो निभेन । भाबी राष्ट्रपतिको रुपमा फ्रान्समा लोकप्रिय रहेका खाँका बारेमा देशभित्र पनि अनुसन्धान शुरु भयो । उनीमाथि अरु दर्जन महिलाले आरोप लगाए । तर, कुनैपनि आरोप प्रमाणित हुन सकेनन् । आरोप सही बेठीक बेग्लै, खाँको राजनीति भने सकियो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलत्कारको आरोपमा पदमुक्त मात्र भएनन्, जेलजीबन जिइरहेका छन् । सायदै कसैले कल्पना गरेको थियो महरा मदिरा बोकेर परस्त्रीको घर धाउलान् । उनकै सहकर्मी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरा नैतिकरुपमा दोषि रहेको सार्वजनिक घोषणा गरिसकेका छन् । महराले बलत्कारको प्रयास गरे या गरेनन्, छानबीनभित्रै छ । छानबीनबाट परिणाम जे आएपनि एउटा कुरा स्पष्ट छ–महराको राजनीति झ¥र्यामझुरुम भएको छ । प्रतिष्ठा र उचाइँ पत्याउन नसकिने गरी गर्लामगुर्लुम्म ढलेकोे छ ।

महरा प्रकरणका कारण राजनीतिभित्रको यौनका बारेमा चर्चा हुन थालेको छ । यसका बाछिटा कालान्तरसम्म रहिरहने छन् । हालै मन्त्रीपरिषद् बिस्तारमा एक युवा नेता जसै अट्ने चर्चा नेकपाजनले गर्थेे । गाइँगुइँ अनुसार उनीमाथि युवा संगठन आबद्ध नेतृहरुलाई पदको प्रलोभन दिएर शोषण गरेको गम्भीर आरोप छ । केहीले आफूमाथि हिँसा भएको खबर बालुवाटारसमक्ष पु¥याइपनि सकेका थिए । कारण जे भएपनि अकाट्य भनिएको नाम मन्त्रीको सूचीबाट काटियो ।

महरालाई नजिकबाट चिन्ने महिला नेतृहरुले अनौपचारिक र कोट नगर्ने सर्तमा भनेका कुराहरुलाई आधार मान्ने हो भने –महरा त भुरा हुन् यौन मामिलामा, ठूला माछा राजनीतिक दलमा यत्रतत्र छन् । सार्वजनिक हुने नहुने बेग्लै हो । महरा प्रकरणको पटाक्षेप जसरी होस्, भयँकर पाठशालाका रुपमा दर्ज हुने छ । मृत्युसँग नढलेको जीबन यौनका कारण ढलेको रुपमा पढिने छ वा विश्वासघातको पराकाष्ठाका रुपमा । आगे अदालतकै मर्जी ।

प्रतिक्रिया दिनुहोस
Advertisement