प्रधानमन्त्रीलाई राज्य व्यवस्था समितिको सुझाव : ‘आवास निर्माणको काम तीव्र पारौं’


काठमाण्डु – रूकुम पश्चिम र जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति धन्यवाद दिँदै प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले आवास निर्माणको काम तीव्र पार्न सुझाव दिएको छ ।

शनिबार दिउँसो समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राहत र पुनर्निर्माण प्रभावकारी बनाउन सुझावहरू प्रस्तुत गरेको छ ।

भेटमा समितिका सभापति रामहरि खतिवडाले भने, ‘हामीले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन र अन्तर्क्रिया गर्‍यौं । उद्धार र उपचारमा प्रधानमन्त्री स्वयं फिल्डमा पुगेर जसरी नेतृत्व गर्नुभयो, त्यसको सबैले प्रशंसा गरेका छन् । १३ घण्टाभित्र उद्धारको काम सकिनुमा प्रधानमन्त्रीको सक्रियताले नै काम गरेको हामीले पायौं । यसका लागि समितिको तर्फबाट सरकारलाई विशेष धन्यवाद छ । अब सरकारले राहत र पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ भन्ने हाम्रो सुझाव छ ।’

नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले भने, ‘प्रभावित क्षेत्रमा प्रचारका भोकाहरू पनि देखिए तर प्रधानमन्त्रीले एकाबिहानै प्रभावित क्षेत्र पुगेर जसरी उद्धारको काम गर्नुभयो, यो निकै प्रेरणादायी छ । देशमा सरकार छ भन्ने कुराको गहिरो गरी अनुभूति गराउनुभयो । म यसको उच्च प्रशंसा गर्दछु ।’

भेटमा समितिका सदस्यहरूले अस्थायी आवासको काम हिउँदअघि नै सक्न, मृतक परिवारलाई आर्थिक राहत उपलब्ध गराउन, प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवाको व्यवस्था गर्न विभिन्न सुझावहरू दिएका छन् ।

समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सांसदहरूबाट प्राप्त सुझावहरू राम्रोसँग अध्ययन गरेर कार्यान्वयन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement