एनसेल प्रकरणमा अतिवादीले घटिया रुपमा प्रचार गरे: प्रधानमन्त्री प्रचण्ड

एनसेल प्रकरणमा अतिवादीले घटिया रुपमा प्रचार गरे: प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले एनसेल प्रकरणमा तल्लोस्तरबाट गलत प्रचार गरिएको बताएका छन् ।

सोमबार प्रेस सेन्टर नेपालले पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एनसेल प्रकरणमा तल्लोस्तरबाट गलत प्रचार गरिएकाले त्यसको प्रतिवाद गर्न आग्रह गरेका हुन् ।

‘म युएइमा भएको बेला एनसेल खरिद बिक्री भयो भन्ने सुनेँ । यसमा सतर्कतापूर्वक अनुसन्धान गर्न मैले उतैबाट निर्देशन दिएँ । नेपाल आएको भोलिपल्टै यसमा के कस्तो प्रभाव पर्छ भनेर मुख्य सचिवसहित सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएँ । त्यतिमात्र नभइ गठबन्धनलाई पनि विश्वासमा लिनुपर्छ भनेर यो स्वभाविक छैन । यहाँ गडबढ छ भन्ने लागेर बैठक बोलाएँ । लगत्तै क्याबिनेट बैठकबाट छानबिनका लागि समिति गठन भयो । तर अतिवादीहरूबाट घटिया रुपमा प्रचार र दुस्प्रचार गरियो । तपाईं कल्पना गर्नोस् यति तल्लो तहबाट प्रचार भएका छन् त्यसलाई प्रतिवाद गर्नुपर्छ ।’, उनले भने ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले गठबन्धनबारे विभिन्न टिकाटिप्पणी भएको भन्दै गठबन्धन केही नहुने बताए । ‘म प्रधानमन्त्री भएको भोलिपल्टदेखि नै गठबन्धन सरकारबारे विभिन्न टिकाटिप्णी भएको मैले नजिकबाट हेर्दै आएको छु । म प्रधानमन्त्री भएको पनि एकवर्ष पुग्न लाग्यो । सत्ता गठबन्धन दलहरूबिच एक वर्षको समीक्षा गर्दै अर्को वर्षको तयारी गर्छौं । केही हुनेवाला छैन । यो गठबन्धन पुरै अवधि जान्छ ।’, उनले भने ।