बालेनप्रति प्रचण्डको गुनासाे- पहिला बोलेर जवाफ नसुनी हिँड्नु हुदैँन, मलाई इरिटेसन हुन्छ


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन शाहसँग असन्तुष्टि जनाएका छन् ।

सोमवार ललितपुर महानगरपालिकाको वार्षिक उत्सवको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले मेयर बालेन बोलेर जवाफ नसुनी हिँडेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

ललितपुर महानगरपालिकाको वार्षिक उत्सवको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन पनि एउटै मञ्चमा थिए ।

ललितपुर महानगरको स्थापना दिवसमा मेयर शाहले फोहोर व्यवस्थापन, काठमाण्डुको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए ।

‘कुनै कुनै अतिक्रमणहरु हामी आफैंले पनि रोक्न सक्छौं । खोला अतिक्रमण चाहिँ, सम्माननीय ज्यू यहीँ हुनुहुन्छ, उहाँले चहानुभयो भने यहाँदेखि अर्को कार्यक्रममा जान जति समय लाग्छ त्यति समयमा समाधान हुने विषय हो त्यो । सम्माननीय ज्यूले चाहनुभयो, गृहमन्त्री ज्यूले चाहानुभयो भने पाँच मिनेटदेखि एक घण्टाभित्र सल्टिने समस्या पनि छन् ।’, बालेनले भनेका थिए । कार्यक्रममा आफ्ना कुरा राखेर बालेन त्यहाबाट निस्किए ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै भने, ‘बालेन्द्रजी गइहाल्नुभयो पहिला बोलेर हिँडिहाल्नेसँग पनि मलाई अलि इरिटेसन हुन्छ । आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न चाहिँ नबस्ने, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म । म उहाँलाई भन्न चाहन्छु चाहे त्यो बागमतीमा बसेकाको हस्तक्षेपको कुरालाई होस्, या तीनकुनेको कुरालाई होस् । चाहे उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा कतिपटक सिंहदबारमा बैठक भयो । अहिलेको प्रधानमन्त्री जस्तो सकारात्मक र रचनात्मक ढंगले समन्वय गरेको अर्को कसैले देख्नुभएको छ?’

प्रतिक्रिया दिनुहोस
Advertisement