यसपटकको जहाज खरिदमा कुनै त्रुटि र विवाद नहोस्ः प्रधानमन्त्री प्रचण्ड

यसपटकको जहाज खरिदमा कुनै त्रुटि र विवाद नहोस्ः प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै त्रुटि वा विवाद हुनु नपर्ने बताएका छन् ।

आइतबार दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ र छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जहाज खरिद प्रक्रियामा कुनै त्रुटि वा विवाद हुनु नपर्ने बताएका हुन् ।

‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ । यसपटक यस्तो गल्ती नहोस् । जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ । यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटि नहोउन् । हाम्रा कतिपय नीति नियमहरू पर्यटकमैत्री छैनन्, तिनीहरू बदलेर भए पनि पर्यटकका लागि सहज वातावरण बनाउनेतिर सोचौँ । त्यसैले तपाईंहरूले प्रस्ताव ल्याउनुस्, त्यस्ता निषेधित क्षेत्र खुला गरेर पर्यटक आकर्षित गरौँ । पर्यटकीय क्षेत्रहरूमा रात्रिकालीन सेवा पनि सहज गरिदिनुपर्छ । यसमा पनि सरकार लचिलो हुनुपर्छ ।’, उनले भने ।

छलफलमा खानेपानी मन्त्री महेन्द्र राय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, राज्यमन्त्री सुशीला श्रीपाली, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, संस्कृति सचिव दीपक काफ्ले, अर्थसचिव कृष्णहरि पुष्करलगायतले आफ्नो मन्त्रालय र जिम्मेवारीसँग सम्बन्धित विषयमा धारणा राखेका थिए ।