नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा छ : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएका छन्। आइतवार काठमाडौँमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले ताइवान चीनकै अभिन्न अंग भएको बताए।

उनले ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको र आफ्नो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा प्रष्ट पारेको बताए।

उनले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताए। उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशको सम्बन्ध प्रगाढ रहेको बताए।

‘हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बुझेका छौँ। शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ‚’ प्रधानमन्त्रीले भने, ‘नेपाल एक चीन सिद्धान्तप्रति स्पष्ट र दृढ छ। आन्तरिक तथा वाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धता कुनै हालतमा प्रभावित हुँदैन। ताइवान चीनकै अभिन्न अङ्ग हो।’

उनले ताइवान स्वतन्त्रताका सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको पनि बताए। ‘हामी फेरि भन्न चाहन्छौँ हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौँ‚’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने पनि स्पष्ट पारे। दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र नजोडिएको भन्दै दुई देशका साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement