काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक, सामाजिक लगायत क्षेत्रमा सुधारका लागि बुधबार मागपत्र बुुझाएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहितका पदाधिकारीले मागपत्र बुझाएका हुन् ।
मागपत्रमा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’को नाराका साथ कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि सुझाव दिइएको छ ।
गत चैत १५ गतेको तीनकुने घटनाका क्रममा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएकाले त्यसको उचित क्षतिपूर्तिका लागि पनि अध्यक्ष नेपालले सरकारसँग माग गरे । मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा सुझावहरू प्राप्त भएकोमा धन्यवाद दिँदै नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेकाले बजेट निर्माणका क्रममा यी सुझावलाई समेट्ने कोसिस गर्ने विश्वास दिए ।
प्रधानमन्त्री ओलीले प्रतिगामी र अतिवादी तत्वहरूका अवाञ्छित क्रियाकलाप भइरहेको सन्दर्भमा त्यस्ता क्रियाकलापको विरोध हुनुपर्नेमा जोड बताए । प्रतिनिधिमण्डलमा अध्यक्ष नेपालका साथ वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, सचिव सावित्राकुमारी भुसाल लगायत सहभागी थिए ।
करीब १ घण्टाको भेटघाटमा नेताहरूबीच समसामयिक राजनीतिक विषयमा अनौपचारिक कुराकानी र विगतका कतिपय घटनाहरूको स्मरण गरिएको थियो ।
प्रतिक्रिया