काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुन:स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै उनले पुन:स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरूले उपलब्ध गराएको स्रोतसाधन प्रयोग गर्ने तयारी गरिरहेको बताए ।
उनले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँगको सोमबारको छलफलले उनीहरूको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त गरे ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबिचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताए । उनले जनप्रतिनिधिहरूलाई लक्षित गर्दै भने, ‘यसअघि संघ, प्रदेश र स्थानीय तहबिच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ । तर यस विपद्मा हामी एकै ठाउँमा उभियौँ, मिलेर काम गर्यौँ ।’
प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुन:स्थापना गर्ने गरी निरन्तर काम गरिरहेको बताए । उनले सडक सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत् अवस्थातर्फ स्वत:स्फूर्त फर्किन सहज हुने विश्वास व्यक्त गरे ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूहरूले सुरुआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै बताए । उनले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुन: बस्ती बसाउन सम्भव नहुने बताए । त्यसका लागि सरकारले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा बस्ती बसाउने गरी तयारी सुरु गरेको जानकारी गराए ।
उनले भने, ‘बस्ती बसाउँदा प्रभावित मानिसहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति लगायतलाई ध्यान दिनुपर्छ र पूर्ववत् अवस्था उपलब्ध हुनुपर्छ, खेतीयोग्य जमिन जोगाउँदै वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्छ ।’ यसका लागि प्रधानमन्त्री शाहले आफैँ जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरे ।
सोमबारको भेटमा प्रभावित क्षेत्रका जनप्रतिधिहरूसँगको छलफलले त्यहाँको वस्तुस्थिति बुझ्न सहयोग पुगेको प्रधानमन्त्री शाहको भनाइ थियो ।




प्रतिक्रिया