प्रधानमन्त्रीबाट अपमानित भएको भन्दै नेकपाका चार नेताले गरे सचिवालय बैठक बहिस्कार


काठमाडौं – शनिबार दिउँसो तीन बजेका लागि बोलाइएको केन्द्रीय सचिवालयको बैठक समयमै सुरु नभएपछि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेर बाहिरिएका छन्।

लामो समयसम्म कुराएर आफूहरुको अपमान गरेको भन्दै बैठक बहिस्कार गरेर बाहिरिएका हुन् । निर्धारित समयमा बैठक बस्नका लागि पुगे पनि प्रधानमन्त्री नआएपछि आफूहरुले अपमानित महसुस गरेर बैठक छाडेर निस्किएको नेता झलनाथ खनालले बताए। शुक्रबारको बैठक पनि प्रधानमन्त्रीको व्यस्ततका कारण शनिबारको लागि सारिएको थियो।

समयमा बैठक सुरु नहुने गरेका कारण प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि पनि आपत्ति जनाएका थिए। त्यसपछि समयमै बैठक बस्ने समझदारी भएको थियो। ’बैठक सुरु नभए १५ मिनेट कुर्ने नभए जानकारी गराउने सहमति थियो तर प्रधानमन्त्रीबाट कुनै जानकारी नआएपछि हामी बाहिरियौं,’ नेता श्रेष्ठले भने।
आफूहरुको यो कदम पार्टीमा सिस्टम विकास गर्नको लागि भएको श्रेष्ठले बताए।

’यो कसैका विरुद्ध होइन’, श्रेष्ठले भने, ’हामी स्वयंलाई सचेत पार्नका लागि हो। पार्टीलाई सिस्टममा लैजानका लागि गरिएको पहलकदमी हो।’  पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड छुट्टै बैठकमा बसेर आफरुहरुलाई बाहिर कुराएको एक नेताको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement