प्रधानमन्त्री कपः प्रदेश ३ को लगातार दोस्रो जीत


काठमाडौं – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले लगातार दोस्रो जीत हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का रहेको प्रदेश ३ ले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेका हो ।

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले दिएको १०९ रनको सामान्य लक्ष्यलाई प्रदेश ३ ले २२ दशमलव २ ओभरमा ३ विकेट गुमाएर भेटायो । प्रदेश ३ को जीतमा आदील खानले अविजित ३८ रन जोडे भने इशान पाण्डेले अविजित २६ तथा रित गौतमले २० रन बनाए । गण्डकीका किशोर महतोले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ३० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदैै १०८ रन बनाएको थियो । गण्डकीका लागि सुमा घिमिरेले ३४ तथा आकाश थापाले २४ रन जोड्नुबाहेक अन्यले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

प्रदेश ३ का लागि कप्तान पारस खड्का र सूर्य तामाङले समान चार चार विकेट लिए भने नन्दनकुमार यादवले २ विकेट लिए । जीतसँगै समूह ए मा प्रदेश ३ ले ३ खेलबाट ४ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement