जनयुद्ध र राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको भूमिका महत्त्वपूर्ण रहेको छ: प्रधानमन्त्री दाहाल


काठमाण्डु – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताएका छन्।

बुधबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस(मार्च ८)को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले लोकतन्त्र प्राप्तिको आन्दोलन, जनयुद्ध र राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको महत्त्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले जारी गरेकाे शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

“राजनीतिक अधिकारले त्यतिबेला मात्र सार्थकता प्राप्त गर्दछ, जतिबेला उक्त अधिकारले जनताको जीवनमा सकारात्मक प्रभाव पार्दछ, सामाजिक मान्यता र परम्परामा परिवर्तन ल्याउँछ, सांस्कृतिक रूपान्तरणको आधारशिला खडा गर्दछ”, शुभकामना सन्देशमा भनिएको छ, “महिलाको राजनीतिक अधिकारका साथै आर्थिक अधिकारमा समानता, आत्मनिर्भर र स्वरोजगारको प्रबन्ध, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप सामाजिक व्यवस्था रूपान्तरणमा हस्तक्षेप महत्त्वपूर्ण हुन्छ।”

मुक्ति, समानता र स्वतन्त्रताको आकङ्क्षासहित सुरु भएको महिला आन्दोलन र प्राप्त अधिकारको स्मरण र सम्मानस्वरूप विश्वभरि प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वेदश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरुत्वपूर्ण नेतृत्व रहिआएको स्मरण गरेका छन्।

“लोकतन्त्र प्राप्तिका आन्दोलन होस् वा महान् जनयुद्ध र ऐतिहासिक आन्दोलनलगायतका गौरवपूर्ण सङ्घर्षहरू हुन्, ती सबै आन्दोलनमा महिलाहरूको सहभागिता, नेतृत्व एवं बलिदानीपूर्ण सङ्घर्षको जगमा नै हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवादोन्मुख संविधान प्राप्त गरेका छौँ”, सन्देशमा भनिएको छ, “यो गौरवपूर्ण सङ्घर्ष र ऐतिहासिक उपलब्धि नेपाल र नेपालीका लागि मात्र नभएर मुक्ति, समानता र स्वतन्त्रता चाहने विश्वभरिका जनसमुदायका निम्तिसमेत प्रेरणादायी छ।”

जनताको वीरतापूर्ण सङ्घर्ष र बलिदानको बलमा नेपालले विश्वमै अग्रणी संविधान प्राप्त गरेको छ। नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अङ्गहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको सन्देशमा उल्लेख छ।

“संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये, सभामुख र उपसभामुखमध्ये, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनैपर्ने संवैधानिक व्यवस्था मात्र गरेको छैन”, शुभकामना सन्देशमा भनिएको छ, “सङ्घीय र प्रादेशिक संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नाका साथै स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनैपर्ने व्यवस्था गरेको छ।”

सम्पत्ति, कानूनी उपचार, आयआर्जन र वृत्तिविकासका क्षेत्रमा समेत महिलालाई प्राथमिकता दिएको र लैङ्गिक समानताका पक्षधर परिवर्तनकारी शक्तिका निम्ति यो अधिकार पर्याप्त नभए पनि विश्वभरिको व्यवस्था र अभ्यासका दृष्टिले गुणात्मक रहेको तथ्य स्मरण गर्नेपर्ने प्रधानमन्त्री दाहालले सन्देशमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement