प्रधानमन्त्री दाहाल सेप्टेम्बर २३ मा चीन जांदै, एसियन गेम्समा समेत सहभागी हुने


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको मिति तय भएको छ । शनिबार पाँच दिने इटली भ्रमणमा गएका दाहालको चीन भ्रमणको कार्यक्रम तय भएको उनि निकट स्रोतले जानकारी दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल चीनको हन्जाउमा हुन लागेको १९ औं एसियन गेम्समा सहभागी हुन चीन भ्रमणमा जाने कार्यक्रमको टुंगो लागेको हो । उनको भ्रमण सेप्टेम्बर २३ देखि २६ सम्मका लागि तय भएको चिनियां स्रोतले समेत जानकारी दिएको छ ।

उनको हन्जाउबाट बेइजिङ जाने र बेइजिङमा आफ्ना समकक्षी ली छ्याङसंग र राष्ट्रपति सी जिनपिङसंग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भइसकेको छ ।

दाहाललाई यसअघि चैत १४ मा चीनको हेनान प्रान्तमा भएको बोआओ फोरम फर एसिया कार्यक्रममा सहभागी हुन निम्ता आएको थियो । तर, दाहालको चीन भ्रमणअघि भारत जाने चाहनाले उक्त कार्यक्रममा उनको सहभागिता भएन् ।

चिनियां पक्षले दाहालको भ्रमणलाई सफल बनाउन तयारी सुरु गरिसकेको छ । त्यसका लागि दुवै देशका उच्च अधिकारीहरु छलफलमा जुटिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement