प्रधानमन्त्री देउवाद्वारा नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिताका लागि तयार गरिएको ट्रफी सार्वजनिक गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा उनले प्रतियोगिताका लागि तयार गरिएको ‘नेशनल गेम ट्रफी’ सार्वजनिक गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकमा खेलकुद विश्वविद्यालय स्थापना गर्नेतर्फ सरकारले काम गर्ने बताए । उनले भने, “आर्थिक अवस्था राम्रो छैन, तर पनि सुरुआत गर्नेछौँ, यसबाट खेलप्रेमी अझै आकर्षित हुने विश्वास लिएको छु, युवामा खेलकुदप्रति राम्रो लगाव छ ।”

नेपाली खेलकुदमा अघि भए पनि राष्ट्रियरुपमा भने ख्याति प्राप्त गर्न बाँकी नै रहेको उल्लेख गर्दै उनले नेपाल खेलकुद प्रेमी देश भएकोसमेत बताए । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक धेरै पदक विजेता टोलीलाई ट्रफीको व्यवस्था गरिएको जानकारी दिए। उक्त ट्रफी चाँदी र सुन जडित करिब १० लाखको लागतमा तयार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement