प्रधानमन्त्री पुत्री गंगाको दबाबमा एकछिन खोसियो सांसद अमरेश सिंहको निजी सुरक्षा!

प्रधानमन्त्री पुत्री गंगाको दबाबमा एकछिन खोसियो सांसद अमरेश सिंहको निजी सुरक्षा!


काठमाण्डु – प्रतिनिधिसभा सदस्य (सांसद) अमरेशकुमार सिंहको निजी सुरक्षामा खटाइएको पीएसओ सुविधा खोसिएको छ ।

आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री गंगा दाहालको निर्देशनमा पीएसओ सुविधामा रहेका असई रामचन्द्र खड्कालाई फिर्ता गरिएको सांसद सिंहले जानकारी दिए ।

गृह मन्त्रालयले हालै उच्च पदाधिकारीको सुरक्षा सम्बन्धी नियम बनाएर सुरक्षा जोखिममा रहेका ३९ पदाधिकारीको सुरक्षामा पीएसओ खटाएको थियो । तर आईतबार प्रधानमन्त्री पुत्री गंगाको निर्देशनमा पीएसओ खोसिएको उनले बताए ।

‘अकस्मात पीएसओ फिर्ता गरिएपछि मैले प्रहरी प्रमुख आईजीपीलाई फोन गरेर सोधें, उहाँले माथिको निर्देशन भन्नुभयो,’ सांसद सिंहले काठमाण्डुपाटीसँग भने, ‘मैले भ्रष्टाचार प्रकरणमा गंगा दाहालको संलग्नताबारे सार्वजनिक गरेपछि मेरो सुविधा खोसिएको छ ।’

प्रहरीका आईजीपीपछि सांसद सिंहले गृह मन्त्रालयमा पीएसओ खोसिएको जानकारी गराए । त्यसपछि गृह मन्त्रालयले नियमानुसार प्रदान गरिएको सुरक्षा फिर्ता गर्न नमिल्ने भन्दै असई खड्कालाई पुनः सांसद सिंहको सुरक्षामा खटाएको छ ।

आईतबार बिहान सांसद सिंहले सामाजिक सञ्जाल फेसबूकमा लेखेका थिए, ‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दाहालले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेका छिन् ? त्यो सबै प्रमाण मसँग सुरक्षित छ । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’