काठमाण्डु – सरकारले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारी थालेको छ । साउनको दोस्रो हप्ता प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी थालिएको प्रधानमन्त्री निटक स्रोतले जानकारी दिएको छ ।
यसका साथै प्रधानमन्त्री ओली असारको दोस्रो हप्ता स्पेनको भ्रमण गर्नेछन् । स्पेन भ्रमणको मिति लगभग टुंगो लागिसकेकोले परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी सुरु गरिसकेको छ । तर, भारत भ्रमणको तयारी अझै प्रारम्भिक चरणमै रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् । भारत भ्रमणको सन्दर्भमा नयाँ दिल्लीबाट सकारात्मक संकेत आएकाले सोहीअनुसार तयारी थालिएको अधिकारीहरूको भनाइ छ ।
यसका साथै नेपाल र भारतका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पनि सुरु गरेको छ । प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले भ्रमणका विषयमा भारतीय अधिकारीहरूसँग छलफल थालेका छन् । यो भ्रमण साउनको दोस्रो हप्तामा हुने सम्भावना बढी रहेको अधिकारीहरू बताउँछन् ।
यदि पहलगाममा आतंकवादी आक्रमण नभएको भए प्रधानमन्त्रीको भारत भ्रमण जुनमै हुनेथियो । भारत–पाकिस्तानबीचको तनावका कारण भ्रमण पछि धकेलिएको हो ।
नयाँ दिल्लीबाट सकारात्मक संकेतहरू आएपछि भारतका लागि नेपाली राजदूत शंकर शर्मा दिल्लीमा र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौंमा आवश्यक समन्वय गरिरहेका छन् ।
यसबीच प्रधानमन्त्री ओली आगामी जुन ३० देखि जुलाई ३ (असार १६–१९)सम्म स्पेनको सेभिलमा हुने चौथो संयुक्त राष्ट्र संघीय विकासका लागि वित्तीय सहयोग सम्मेलनमा सहभागी हुने छन् ।
यो उच्चस्तरीय सम्मेलनले विश्वभरका राष्ट्रप्रमुख, सरकारी प्रतिनिधिहरू र अन्य सरोकारवालाहरूलाई दिगो विकासका लागि वित्तीय सहकार्यबारे छलफल गर्न एक ठाउँमा ल्याउनेछ । परराष्ट्र मन्त्रालयले उक्त सम्मेलनका लागि प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको छ ।
साथै मन्त्रालयले प्रधानमन्त्रीको द्विपक्षीय भ्रमणको व्यवस्था मिलाइदिन पनि स्पेन सरकारलाई अग्रह गरेको छ । तर स्पेनले प्रधानमन्त्रीको द्विपक्षीय भ्रमणका लागि औपचारिक सहमति अझै दिएको छैन । यदि प्रधानमन्त्रीले यूरोपेली देशको द्विपक्षीय भ्रमण गरेमा उनी स्पेनका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् र काठमाडौं र म्याड्रिडबीच केही सम्झौताहरूमा हस्ताक्षर हुनेछन् ।
विकासका लागि वित्तीय सम्मेलनहरू नै एकमात्र यस्तो अन्तर्राष्ट्रिय मञ्च हो जहाँ सरकार प्रमुखहरू, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरू, वित्तीय र व्यापारिक संस्था, निजी क्षेत्र, नागरिक समाज र संयुक्त राष्ट्र प्रणाली एकै ठाउँमा भेला भएर दिगो विकासका लागि सहकार्यबारे छलफल गर्छन् ।
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे आफू जानकार भएको तर भारत भ्रमणको बारेमा खासै थाहा नभएको बताए । ‘प्रधामन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पटकपटक भेटिसक्नुभएको छ, त्यसैले भ्रमणको सम्भावना सधैँ खुला हुन्छ’, उनले भने ।
गत वर्ष जेठमा प्रधानमन्त्रीमा नियुक्त भएका ओली भारत भ्रमणको लागि प्रयासरत छन् । तर हालसम्म उनको भारत भ्रमण हुन सकेको छैन । भारतले ओलीको भ्रमणमा अनिच्छा देखाउँदा उनको भारत भ्रमण हुन सकिरहेको थिएन ।
तर प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग संयुक्त राष्ट्रसंघ महासभा (न्यूयोर्क) र छैठौं बिमस्टेक सम्मेलन (बैंकक) मा दुईपटक भेट गरिसकेका छन् ।
एमालेका एक नेताका अनुसार प्रधानमन्त्री ओलीले स्पेन भ्रमणपछि भारतको भ्रमण गर्ने गरी प्रारम्भिक तयारी सुरु भएको छ ।
भारतले नेपालका दुई ठूला दल कांग्रेस र एमालेबीचको गठबन्धन सरकारलाई नरुचाएको कारण ओलीको भ्रमण हुन नसकिरहेको विश्लेषण नेपालमा हुने गरेको छ । तर यी दुई पार्टीको सरकार तलमाथी तत्काल नहुने देखेपछि भारतले पनि ओलीलाई अब भारत भ्रमण गराउन खोजेको देखिएको छ ।
तुर्कमेनिस्तान पनि जाने
प्रधानमन्त्री ओली युरोपेली मुलुक स्पेन र भारतको भ्रमणसँगै मध्य–एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणको तयारी पनि थालेको छ ।
२०–२३ साउन (५–८ अगस्ट) मा तुर्कमेनिस्तानमा भूपरिवेष्ठित विकासशील राष्ट्रको तेस्रो सम्मेलन हुँदै छ । यो निकाय पनि संयुक्त राष्ट्रसंघ अन्तर्गतकै हो ।
तुर्कमेनिस्तान पनि भूपरिवेष्ठित र विकासशील मुलुक भएकाले संयुक्त राष्ट्र संघको छातामुनि हुने यस्ता सम्मेलनलाई नेपालले प्राथमिकता दिँदै आएको छ । यही कारणले पनि यो सम्मेलनमा प्रधानमन्त्री ओली सहभागी हुने परराष्टका अधिकारीहरू बताउँछन् ।
प्रतिक्रिया