सरकार निजी विद्यालयलाई पुल्पुल्याएर राख्ने पक्षमा छैन : प्रधानमन्त्री ओली


काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाइ रुची अनुसारको शिक्षा दिनुपर्ने बताएका छन्।   उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग –२०७५ को प्रतिवेदन मंगलबार बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले रुची अनुसारको पठन पाठनको वातावरण पाउने हो भने सबै बालबालिका सफल हुने बताएका हुन्।

‘रुची अनुसारको विषय र क्षेत्रको अध्ययन गर्न पाए सबै बालबालिका सफल हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘फूटबलमा रुची हुनेलाई संगित सिकाएका छौं । आफ्नो होइन बाबुआमा र विद्यालयको रुची लादेका छौं । अनि बच्चलाई असफल घोषित गरेका छौं । यो प्रणाली राम्रो होइन।’

अहिलेको शिक्षा प्रणालीले बालबालिकालाई असफल बनाएर उनीहरुको आत्मविश्वासमा बञ्चरो हानिरहेको प्रधानमन्त्री ओलीले बताए।  प्रधानमन्त्री ओलीले भविष्यका कर्णधार भनेर चिनिएका बालबालिकालाई असफल घोषित गरेर उनीहरुको मनोविज्ञान बिगार्नु गलत रहेको बताए। ‘परीक्षाका नाममा बालबालिकालाई फेल भनिरहंदा उसको आत्मविश्वासमा बञ्चरो प्रहर हुन्छ” प्रधानमन्त्री ओलीले भने, “बाल्यकालमै असफलताको बिल्ला भिराइदिएपछि बच्चाको मनोवल उठ्न सक्दैन । यसले समग्रतामा देशको भविष्यमाथी प्रहर गर्छ । ”

बालबालिकाको मनोविज्ञानमा असर नपरोस भनेर असफल नहुने ग्रेडिङ प्रणाली ल्याएको प्रधानमन्त्रीले बताए। “यस प्रणालीले पनि शिक्षाको गुणस्तर बढाएको देखिएको छैन । हामीले जुन प्रणाली अपनाए पनि गुणस्तर वृद्धि खोजेका हौं ” प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले नेपाललाई विशिष्ट प्रतिभाहरुको देश बनाउनुपर्ने बताए।  ४२- ४३ प्रतिशत मात्र सफल हुने देश होइन अब उन्नत विद्यार्थी भएको देशको रुपमा नेपाललाई चिनाउनु पर्ने ओलीको भनाइ छ । “नेपाललाई डिस्टिङसनहरुको देश बनाउनु पर्दछ। असफलहरुको देशको परिचय अब बदल्नु पर्दछ, उनले भने।

प्रधानमन्त्री ओलीले सरकार निजी विद्यालयहरुलाई पुल्पुल्याएर राख्ने पक्षमा नभएको बताए।  ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भएपछि निजी विद्यालयप्रतिको आकर्षण आफैं घट्छ,’ उनले भने, ‘गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयमा पाएपछि अभिभावकहरु महंगा निजी विद्यालयमा जादैनन् । सरकार हस्तक्षेप गरेर निजीलाई प्रतिवन्ध लगाउने पक्षमा छैन तर विद्यार्थी नै नभएपछि निजी विद्यालय कसरी टिकछन् र ?’

प्रतिक्रिया दिनुहोस
Advertisement