सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशनः सार्वभौमसत्तालाई ध्यानमा राखेर काम गर्नू


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नयाँ मोडमा प्रवेश गरेको बताएका छन्।

चन्द्रागीरी नगरपालिकास्थित मातातीर्थमा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले विगततिर फर्केर पश्चाताप वा समिक्षा गर्ने होइन वर्तमान र भविष्यलाई हेरेर देश निर्माणका लागि काम गर्नुपर्ने बताए। ‘हिजो भनाभन गरेका थियौं ,झगडा गरेका थियौं भनेर त्यतातिर फर्कने समय होइन यो,’ ओलीले भने, ‘अब सबै मिलेर देश निर्माण लाग्नुपर्छ।’

जनताले विकास निर्माण,उत्पादन,शिक्षा,स्वास्थ्य,सुरक्षा हरेक क्षेत्रमा परिवर्तन चाहेको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘हाम्रा बाटाहरु चिल्ला हुन्। खेत बाँझा नहुन्। खेतमा धान र गहुँका बाला झुलुन्। विद्यालयमा पढाइ चलोस भन्ने सबैको चाहना छ ’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि हामी सबै एकताबद्ध भएर लाग्नु पर्छ। जनताको यो सपना पुरा हुन्छ।’

प्रधानमन्त्री ओलीले सबैले आफ्ना आचारणमा पनि सुधार ल्याउनु पर्ने बताए। ‘सबैले शान्तिको अनुभूति गरुन्। कसैलाई अन्याय नपरोस’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘मान्छे देख्दा शत्रु होइन । दाजुभाइ दिदीबहिनी देखियोस्,’ उनले भने।

प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बलले स्थापनाको छोटो समयमा नै समाजमा शान्ति सुरक्षा स्थापनामा निर्वाह गरेको भूमिकाको प्रसंशा गरे।
उनले शसस्त्र प्रहरी बललाई राष्ट्रिय एकता,अखण्डता र सार्वभौमसत्तालाई ध्यानमा राखेर काम गर्न पनि निर्देशन दिए।

तालिम केन्द्र निर्माणका लागि चीन सरकारको ३ अर्ब ६० करोड रुपैयाँको सहयोग गरेको थियो। प्रधानमन्त्री ओलीले चीन सरकारलाई यस सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गरे।

ो३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि २४ महिना नै निर्माण सम्पन्न गरी चाइना रेल्वे कन्स्टकक्सन कम्पनीले निर्माण गरी भवन हस्तान्तरण गराएकोमा प्रधानमन्त्री ओलीले प्रशंशा गरे। ।

प्रतिक्रिया दिनुहोस
Advertisement