काठमाण्डु– पूर्वाधारमन्त्री सुनिल लम्सालले भोटेकोसी बाढी प्रभावित नागरिकलाई क्षति भएको स्थानमै पुनःस्थापित नगरी नयाँ शहर विकास गर्ने सरकारको तयारी रहेको बताएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास समिति बैठकमा बोल्दै मन्त्री लम्सालले पछिल्लो विपद्पछि पुनःस्थापनाको परम्परागत ढाँचाभन्दा फरक योजना अघि सार्नुपर्ने आवश्यकता देखिएको बताए।
उनका अनुसार बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका स्थानमा पुनः बस्ती बसाल्नु व्यवहारिक नहुने भएकाले सुरक्षित स्थानमा व्यवस्थित नयाँ शहर निर्माण गर्ने अवधारणा अघि बढाइएको हो।
‘अब हामी नयाँ शहर बनाउने अवधारणामा जानेछौं,’ उनले भने, ‘अहिले भूकम्पभन्दा फरक तरिकाले जानुपर्ने छ, जुन स्थानमा क्षति भएको हो, त्यही स्थानमा फर्काउने योजना छैन ।’
सरकारले प्रस्तावित नयाँ शहरमा उद्योग, अस्पताल, विद्यालयलगायत आवश्यक पूर्वाधार तथा सेवा–सुविधा एकीकृत रूपमा विकास गर्ने तयारी गरेको उनले जानकारी दिए।
त्यसका लागि आवश्यक जग्गा खरिद गरेर योजनाबद्ध रूपमा बस्ती विकास गर्ने सरकारको योजना रहेको उनको भनाइ छ।
यस्तै मन्त्री लम्सालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको पनि बताए।
उनका अनुसार विपद्बाट क्षतिग्रस्त सडक, पुल तथा खानेपानी संरचनालाई सम्भव भएसम्म तत्काल सञ्चालनमा ल्याउने र पूर्ण रूपमा क्षति भएका संरचनाको पुनर्निर्माण गर्ने कामलाई प्राथमिकता दिइएको छ।
बाढी आएको दिन नै मन्त्रिपरिषद् बैठक बसेर अबण्डा बजेटबाट तत्काल काम सुरु गर्ने निर्णय भएको जानकारी दिँदै उनले अहिले सरकारको मुख्य प्राथमिकता सडक तथा अन्य कनेक्टिभिटी पुनःस्थापना र खानेपानीजस्ता अत्यावश्यक सेवा तत्काल सञ्चालनमा ल्याउनु रहेको बताए।




प्रतिक्रिया