भ्रष्टाचार उन्मुलन गर्ने मेरो दृढ संकल्प छः प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशवासीका नाममा सम्बोधन गरेका छन। देशवासीका नाममा आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट गरेको सम्बोधनमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको आफ्नो प्रतिबद्धता थप प्रवल बन्दै गएको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार कुनै पनि हालतमा हुन नदिने र भ्रष्टाचार गर्नेलाई छुट नदिने आफ्नो नेतृत्वको सरकारको पहिलो प्राथमिकता रहेको बताएका हुन् । भ्रष्टाचार विरुद्धको आफ्नो अडान र प्रतिबद्धता थप बलियो बनेको बताएका प्रधानमन्त्री ओलीले सरकारी स्वामित्वका सम्पत्तिको दुरुपयोग या अनाधिकृत प्रयोगलाई निरुत्साहित गर्ने दाबी गरे ।

त्यसका लागि जस्तो सुकै मुल्य चुकाउनु परे पनि त्यसका लागि तयार रहेको प्रधानमन्त्री ओलीले बताए । उनले भ्रष्टाचार विरुद्धको लडाई लामो हुन सक्ने तर आफू त्यसलाई उन्मुलन गर्न दृढ संकल्पको साथ अघि बढेको उनले बताए ।

बालुवाटार स्थित सरकारी स्वामित्वको जमीन सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी अर्थात प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपाका महासचिव विष्णु पौडेलले अवैध रुपमा आफ्नो नाममा गराएको कुरा बाहिर आएका बेला प्रधानमन्त्री ओलीको भनाई आएको हो ।

यसअघि ओलीले बालुवाटारको जमीन प्रकरणमा नेता पौडेललाई फसाइएको टिप्पणी गरेका थिए । तर नयाँ वर्षको शुभकामना दिने क्रममा सरकारी स्वामित्वका सम्पत्ति वा जमीन अनधिकृत रुपमा कसैले लगेको भए जस्तोसुकै मुल्य चुकाएर भए पनि सरकारी स्वामित्वमा ल्याउने दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीले समग्रमा यस्तो दाबी गरे पनि बालुवाटार जमीनबारे के गर्ने छन् या त्यसबारे कस्तो प्रक्रिया अपनाइने छ भन्ने स्पष्ट पारेका छैनन् ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठः

प्रतिक्रिया दिनुहोस
Advertisement