यो साता सहमति नभए अर्को हप्ता मन्त्रिपरिषद पुर्नगठन गर्ने तयारीमा प्रधानमन्त्री ओली


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुर्नगठन गर्ने तयारी थालेका छन् । दुई वर्ष पुगेका र सरकारमै रहेर प्रधानमन्त्रीको विरोधमा रहेका मन्त्रीहरुलाई विदा दिने गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद पुर्नगठन गर्ने विषयमा निकटस्थहरुसंग छलफल सुरु गरेका हुन् ।

उनले पार्टीभित्रका सवै पक्ष र क्षेत्रलाई समेटेर मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेका हुन् । नेकपाभित्र पार्टीका दुई अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीच विवाद बढेपछि देश बन्धकजस्तै बनेको छ ।

प्रधानमन्त्री ओलीले नेकपाको विवादले देश बन्धक बनेको भन्दै अव सरकार प्रभावकारी ढंगले संचालन गर्ने तयारी गरेका हुन् । उनले त्यसका लागी अव अन्तिम कदम चाल्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।

कोरोना भाइरसको महामारी फैलिरहेको बेला नेकपाभित्र चरम विवाद भएको र सरकारका काम समेत त्यसबाट प्रभावित भएको भन्दै सर्वत्र विरोध भइरहेको बेला प्रधानमन्त्रीले मन्त्रिपरिषदको पुर्नगठन गरेर अघि बढ्ने तयारी गरेका हुन् ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालयका सदस्यहरु माधवकुमार नेपाल,झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले दुई पदमध्ये एकबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् । तर, प्रधानमन्त्री ओलीले भने दुवै पदबाट राजीनामा नदिने स्पष्ट पारिसकेका छन् ।

नेकपाको स्थायी समिति वैठकमा समेत प्रधानमन्त्री ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि वैठक अनिश्चितकालका लागी स्थगित भएको छ । प्रधानमन्त्री ओली सचिवालय वैठक बोलाउने र स्थायी समीति वैठक स्थगित गर्ने पक्षमा छन् । तर, अर्का अध्यक्ष प्रचण्डले भने स्थायी समितिको वैठकबाटै विवाद समाधान गर्नुपर्नेमा छन् ।

दुवै अध्यक्षबीच वैठक जारी भएपनि सहमती भने निस्केको छैन् । प्रधानमन्त्री ओली यो साताभित्र सहमति भए पनि नभए अर्को हप्ता नै मन्त्रिपरिषद पुर्नगठन गर्ने तयारीमा लागेको बालुवाटार स्रोतको दावी छ ।

‘उहांले अव सहमति भए पनि नभएपनि मन्त्रिपरिषद पुर्नगठन गर्नुहुन्छ, त्यसका लागी गृहकार्य समेत भइसकेको छ,अव नेकपाको विवादले देश बन्धक बन्दैन ।’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीले दुई वर्ष पुगेको अधिकांशलाई विदा दिने तयारी गरेका छन् । पुर्व माओवादीबाट उर्जामन्त्री वर्षमान पुन,वनमन्त्री शक्तिबहादुर बस्नेत, शिक्षामन्त्री गिरीराजमणी पोखरेल र खानेपानी विना मगरलाई विदा गर्ने पक्षमा प्रधानमन्त्री ओली छन् । गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टको हकमा भने प्रधानमन्त्री सकरात्मक छन् । भट्टलाई अर्को मन्त्रालयमा सार्ने तयारी समेत भएको स्रोतको दावी छ ।

त्यसैगरी पुर्व माओवादीबाट जनार्दन शर्मा, हरिवोल गजुरेल,टोपबहादुर रायामाझी, देवेन्द्र पौडेल र पम्फा भुषाललाई समेत समेट्ने तयारी भएको छ ।

पुर्व एमालेबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, वसन्त नेम्वांङ,शिवमाया तुम्वाहाम्फे,पावर्त गुरुंग, घनश्याम भुषाल र योगेश भट्टराईले भने मन्त्रिपरिषदमा निरन्तरता पाउनेछन् । दुई वर्ष पुगेका सवैलाई विदा गर्ने अवस्थामा भने उपप्रधानमन्त्री पोखरेलाई पार्टीमा जिम्मा दिने सम्भावना छ ।

एमालेबाट पार्टी महासचिव विष्णु पौडेल, भिम रावल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे,शेरबहादुर तामांग, गणेश ठगुन्ना र प्रेम आलेलगायत मन्त्री बन्ने सुचिमा छन् ।

प्रधानमन्त्री ओलीले पार्टीका सिनियर नेताहरुलाई समेटेर मन्त्रिपरिषद पुर्नगठन गर्ने तयारी गरेको स्रोतको दावी छ । यसअघि पार्टीमा प्रभाव नभएकालाई समेट्दा सरकार कमजोर भएको निष्कर्शसहित प्रधानमन्त्रीले यसपटक वरिष्ठ नेताहरुलाई राखेर मन्त्रिपरिषद पुर्नगठन गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement