प्रधानमन्त्री ओलीद्वारा नेपाल-चीनमैत्री दौडको उद्घाटन,सिपिसीको संग्रहालय अवलोकन


बेइजिङ – चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गरे ।

नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा भ्रमण टोलीमा रहनुभएका मन्त्रीहरु र चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानसहित चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूतको सहभागिता रहेको थियो ।

उद्घाटनअघि प्रधानमन्त्री ओलीसँग चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानले वार्ता गरे । सो अवसरमा उहाँले खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई विस्तार गर्न सकिने विश्वास समेत व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले विभिन्न प्रकारका खेलकुदमा दुई देशबीच सहकार्य गर्न सकिने बताउँदै त्यसका लागि दुई देशका सम्बिन्धित निकायलाई त्यसतर्फ अघि बढाउने बताए ।  प्रतियोगितामा नेपाल र चीनका गरी तीन दर्जनबढी युवा सहभागी थिए ।

                    

सिपिसीको स्कुल विभागको संग्रहालय अवलोकन

ओलीले आजै चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरे । सिपिसीको पार्टी स्कुलले आयोजना गर्ने छलफलमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ओलीले उक्त संग्रहालयको अवलोकन गरेका हुन्। संग्रहालयमा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास भल्काउने विविध सूचनासहितको सामग्री राखिएका छन् ।

अवलोकनका क्रममा उनका धर्मपत्नी राधिका शाक्यसहित भ्रमणदलमा सहभागी मन्त्रीहरु, सांसद र सरकारी उच्च अधिकारीको सहभागिता थियो । यस संग्रहालयमा कम्युनिष्ट नेताले आफ्ना कार्यकर्तालाई कसरी अनुशासित गर्ने तथा पार्टीका बारेमा कसरी प्रशिक्षित गर्ने भन्ने कुरा झल्काइएको छ ।

पार्टीको संगठनका विषयमा कुन विषय सही र कुन गलत हो भन्ने विषयबारे जानकारी गराइनेबारे तस्बीर तथा यहाँ संग्रहित वस्तुले जानकारी दिन्छ । माओका विचारलाई अगाडि बढाउने र चिनियाँ विचार तथा शैलीसहितको समाजवादको विकास कसरी गर्ने भन्ने विषयमा पनि यस संग्रहालयले जानकारी दिन्छ ।

प्रधानमन्त्री ओलीले पार्टी स्कुल विभागको आयोजनामा विकास र समृद्धिमा राजनीतिक दलको भूमिका विषयमा प्रवचन दिँदै हुनुहुन्छ भने आजै चीनका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement