प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या,अस्पताल भर्ना


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओलीको मुटुको एन्जीओग्राफी गरिएको छ। मंगलबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको मुटुको एन्जीओग्राफी गरिएको हो।

 यसअघि प्रधानमन्त्री ओली डायलासिसका लागि मनमोहन सेन्टरमा निरन्तर जाने गरेका थिए । सोमबार गृह जिल्ला झापा पुगेर विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भएका उनले काठमाडौं आएपछि अस्वस्थ महशुस गरेका थिए ।

अस्पतालका एक चिकित्सकले यस पटक प्रधानमन्त्री ओली डायलासिस नभएर अन्य उपचारका लागि भर्ना भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले मिर्गौलाको खराबीका कारण केही समययता नियमित डायलासिस गराउँदै आएका छन् ।

प्रधानमन्त्री ओलीको १३ कात्तिकमा पहिलो पटक डायलायसिस गरिएको थियो । दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ । तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको थियो । गत १३ र १४ कात्तिकमा उनको चौबिस घण्टामा दुईपटक डायलासिस भएको थियो ।

२०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि उनले नियमित औषधि सेवन गर्दै आएका छन् ।

गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उनको उपचार भएको थियो । प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो । १२ वर्षअघि ओलीको मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement