प्रधानमन्त्रीले नै मिचे कूटनीतिक मर्यादा


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादाविपरीत भेट गरेका छन्। प्रधानमन्त्री ओलीले बुधबार राति बालुवाटारमा परराष्ट्र मन्त्रालयका अधिकारी र राष्ट्रिय अनुसन्धान विभागको प्रमुखलाई नराखीकन गोयलसँग भेटघाट गरी कूटनीतिक मर्यादा उल्लंघन गरेका हुन्।

गुप्तचर प्रमुख अन्य सुरक्षा निकायभन्दा फरक प्रकृतिको अंग भएकाले त्यसका हरेक गतिविधिलाई शंकाको दृष्टिले हेर्नुपर्छ। प्रधानमन्त्री ओलीले शंका निवारणका लागि पनि परराष्ट्र मन्त्रालयका अधिकारी र अनुसन्धान विभागका प्रमुखलाई भेटमा राख्नुपथ्र्यो। तर उनले त्यस्तो आवश्यकता ठानेनन्। भारतीय गुप्तचर संस्था रअ प्रमुखसहित नौजनाको टोली चार्टर्ड विमानमा काठमाण्डु आउनु र प्रधानमन्त्री ओलीसँग भेट गरेर फर्किनुलाई सामान्य शिष्टाचार मात्रै मान्न नसिकने कूटनीतिक तथा राजनीतिक क्षेत्रका विज्ञको दाबी छ।

परराष्ट्र मन्त्रालय र सुरक्षा निकायलाई समेत जानकारी नदिईकन रअ प्रमुखलाई प्रधानमन्त्रीसँग कसले भेट गरायो भन्ने प्रश्न पनि उठेको छ। काठमाण्डुस्थित भारतीय दूतावास वा अन्य निकायले भेटघाटको व्यवस्थापन गरेको हो भने पनि त्यसको जानकारी नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई हुनुपथ्र्यो तर त्यसो भएन।

विभागका अधिकारीहरूले यसबारे अनभिज्ञता प्रकट गरेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पनि यसबारे अनभिज्ञता प्रकट गरेकी छिन्। यसबाट रअ प्रमुखलाई सीधै प्रधानमन्त्री निवासमा लगेर कुन निकाय वा व्यक्तिले भेट गराएको हो भन्ने प्रश्न उठेको छ। त्रिभुवन विमानस्थलमा बुधबार मध्याह्न अवतरण गरेलगत्तै रअ प्रमुख गोयलले भारतीय दूतावासका अधिकारी, केही राजनीतिक दल एवं सामाजिक क्षेत्रसँग आबद्ध मानिससँग भेटघाट गरेका थिए।

प्रधानमन्त्री ओली दिउँसो राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा व्यस्त भएकाले राति भेट भएको हो। रअ प्रमुखसहितका अधिकारी बुधबार नै फर्किने हिसाबले काठमाडौं आएका थिए। तर दिउँसो प्रधानमन्त्रीसँग भेटका लागि समय नमिलेपछि रअका अधिकारी राति यतै बस्नुप¥यो। राति नै रअ प्रमुखले प्रधानमन्त्रीलाई भेटे।

‘नेपाल सरकारका मन्त्री वा संवैधानिक निकायका पदाधिकारी वा अन्य उच्च पदाधिकारीले विदेशी सरकारका मन्त्री, राजदूत वा उच्च सरकारी अधिकारीसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालय र विषयसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधिलाई आमन्त्रण गर्नुपर्छ ।’

राति अबेर बालुवाटारमा प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलबीच भएको भेटले कूटनीतिक क्षेत्रको गरिमा घटाएको र नेपाल–भारत सम्बन्ध कूटनीतिकभन्दा पनि गुप्तचर निकायसँग गाँसिन गएको हो कि भन्ने आशंका जन्माएको छ। यो भेटलाई लिएर सत्तारूढ दल नेकपाभित्र र बाहिर पनि विरोध भएको छ।

सत्तारूढ दलका प्रमुख नेताहरूले यसलाई सामान्य रूपले हेर्न नहुने बताएका छन्। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले यो भेटलाई गैरजिम्मेवारीको पराकाष्ठ भएको बताएका छन्। नेतात्रयले खुलेर आफ्ना धारणा सार्वजनिक नगरे पनि ओली–गोयल भेट कूटनीतिक मर्यादाविपरीत भएको बताएको निकट स्रोतले जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement