मलाई देखाउन भएपनि काठमाडौंमा मास्क लगाईदिनुस् : प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा मास्क लगाउन नपर्ने आफ्नो अभिव्यक्तिको बचाउ गरेका छन् ।

समाजवादी पार्टीका नेताहरुलाई नेकपा प्रवेश गराउन शुक्रबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्री भएको बेला काठमाडौंमा मास्क नलगाई हिड्नै नसक्ने अवस्था रहेको तर अहिले त्यसमा सुधार आएको बताउँदै सरकारको विरोधका लागि केहीले मास्क लगाउन थालेको बताए ।

‘अहिले मास्क नलगाएर पनि हिड्न सकिन्छ । यसलाई सुधार गर्दैछौं भनेको थिएँ ।’ प्रधानमन्त्री ओलीले भने, ‘मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले मलाई देखाउन भए पनि मास्क लगाइदिनुहोला । तर, यसले बाटो सफा गराउने हाम्रो काम रोकिँदैन ।’

प्रधानमन्त्रीले केही मानिसहरु सरकारको काम देखेर अत्तालिन थालेपनि सरकार बाटो सफा गर्ने कामबाट पछि नहट्ने बताए ।

उनले प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा लगायतका कार्यक्रम सुरु गर्दा सरकार अझै सफल हुने भयो भनेर मानिसहरु अत्तालिन थालेको बताए ।

सरकारका आलोचकलाई खासै केही भन्नु नरहेको भन्दै उनले अघि भने, ‘चुनाव पनि नजित्नु, आलोचना गर्न नपाउनु पनि हुन्छ ? हुँदैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement