सरकारले देशलाई न्याय र समानता सहितको समृद्धिको दिशामा अघि बढाइरहेको छः प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

सन्देशमा वर्तमान सरकार सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न शताब्दीऔंसम्म विभेद र अन्यायको शिकार भएका दलित समूदायलाई शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अगाडि बढाउन तल्लिन रहेको उल्लेख छ ।

‘विगतमा पाखा पारिएकाहरुलाई राज्यको मूलप्रवाहमा समाहित गराउँदैछ’, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ, ‘आजको एक्काइशौं शताब्दीमा पनि सामन्तवादको अवशेषका रुपमा रहेको मानव–मानवका बीच गरिने जातीय भेदभाव र छुवाछूतको दुव्र्यवहारप्रति कुनै सहिष्णुता दर्शाइने छैन । समानता, सद्भाव र सबैको मानवअधिकारको पूर्ण रक्षाका लागि सरकार दृढ छ ।’

प्रधानमन्त्री ओलीले सन्देशमा राज्यका हरेक अङ्ग र निकायमा समानुपातिक समावेशी सिद्धान्त अनुसार दलित समूदायको प्रतिनिधित्व गराइने संवैधानिक व्यवस्था रहेको स्मरण गरेका छन् ।

‘राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट दलित समूदायबाट कम्तिमा १÷१ जनाको प्रतिनिधित्व हुने संवैधानिक प्रत्याभूति गरिएको छ । स्थानीय तहको वडा स्तरमा दलित महिलाको अनिवार्य प्रतिनिधित्वलाई कानूनी रुपमा सुनिश्चित गरिएको छ ’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘ नेपालले जातीय भेदभाव तथा छुवाछूतको अन्त्यका लागि अन्तर्रा्ष्ट्रिय रुपमा पनि ठोस प्रतिबद्धता जनाएको सबैलाई विदितै छ ।’

प्रधानमन्त्री ओलीले नेपाल जातीय विभेद मु्क्त देश घोषणा भएको यस दिनले जातीय विभेद र छुवाछूतको दुव्र्यवहारलाई रत्तिभर सहन नगर्न हरेक नेपाली नागरिकलाई उत्प्रेरित गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको उल्लेख गरेका छन् ।

‘हामी सबैलाई समानताको मूल्य र मान्यताप्रति सजग गराउने यस दिवसका अवसरमा देशभित्र र प्रवासमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना’, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement