प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक


काठमाडौं – कालापानी र लिपुलेक भारतले आफ्नो नयाँ नक्सामा समेटेपछिको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ भारतले आफ्नो नक्सामा राखेको दार्चुलाको कालापानी र लिपुलेकबारे छलफल गर्नका लागि शनिबार ४ बजे सर्वदलीय बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन् ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू-भागमा समेटेपछि सत्ता र प्रतिपक्षीसहित सबै क्षेत्रमा अहिले विरोध भइरहेको छ । कात्तिक १७ मा भारतले आफ्नो नयाँ नक्सा नेपाली क्षेत्रलाई मिच्दै निकालेको थियो।

त्यसको तीन दिनमा नेपालले परराष्ट्र मन्त्रालयमार्फत विज्ञप्ति जारी गर्दै ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ’ भनेको छ। प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि बुधबार नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरी भारतीय कदमको विरोध गरेका थिए।

 बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विज्ञ र राजनीतिक दलका प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement