केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाखौँ कम्युनिष्ट कार्यकर्ताले मन पराएको नेकपालाई पुनर्जीवित गरेर जाँदा नेपाली जनता र राष्ट्रको आवश्यक्तालाई सम्बोधन गर्न सकिने बताएका छन् ।

आइतबार नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली जनता र लाखौँ कम्युनिष्ट कार्यकर्ताले मन पराएको नेकपालाई पुनर्जीवित गरेर जाँदा नेपाली जनता र राष्ट्रको आवश्यक्तालाई सम्बोधन गर्न सकिने बताएका हुन् ।

 उनले विभिन्न कारणले यसअघि नेकपा दुर्घटना परेको उल्लेख गर्दै लाखौं कार्यकर्ता र जनताले अनुमोदन गरेको नेकपातर्फ फर्किन पहल गरिने समेत बताए ।

उनले कम्युनिष्टहरु फेरि एकतावद्ध हुन सक्ने सन्देश दिनु पर्ने पनि बताए। ‘छलफलको क्रम त्यहीबाट सुरु गरौं। विचारधारा, राजनीतिक छलफल गरौं। अनि फेरि कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने एउटा नयाँ संकल्प गरौं भन्नेमा हामी छौँ। म के घोषणा गर्न सक्छु भने–केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ। त्यहीँबाट कम्युनिष्ट आन्दोलनको नयाँ ध्रुवीकरणतिर जानेछौँ’, उनले भने, ‘त्यो मोर्चाले नेकपातिर फर्कन सबैसबैलाई अपील गर्नेछ। नेकपा नेताहरुको सनकका कारण दुर्घटनामा परे पनि जनता र आम लाखौं कार्यकर्ताहरुले अनुमोदन गरेको एकता हो। त्यो एकता हाम्रो प्रस्तावको एकता हो। त्यसकारण हामी सबै त्यो एकतालाई पुनर्जीवित गर्न चाहन्छौँ।’

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट मार्फत देशलाई नयाँ आशा र विश्वास दिने गरी सरकारले तयारी गरिरहेको बताए। उनले आफ्नो विदेश भ्रमण हुन लागेको भन्दै त्यसको तयारीमा लागेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement