रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन : प्रधानमन्त्री प्रचण्ड


चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले भने, “रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।” रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको बताउँदै उनले यसैमा उहाँ अडिनुहुन्छ भन्ने आफूलाई नलागेको बताए ।

सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले बताए । रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उनले स्पष्ट पारे । प्रधानमन्त्री दाहालले भने, “रास्वपका अध्यक्ष रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।”

त्यस्तै उनले महाविर पुन आफूसँग सल्लाह नै गरेर माइतीघर मण्डलामा बसेको बताए । बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने, “भेटमा मैले बजेटमा तपाईको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भनें, हिँड्ने समयमा उहाँले माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो । हाँसीहाँसी ।” प्रधानमन्त्री दाहालले थपे, “यस कारण सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । मैले बुझ्दा त सल्लाहमा नै उहाँ बसेको भन्ने बुझेको छु ।” पुनले विकास बजेटको एक प्रतिशत बजेट छुट्याउन अनुरोध गरेको पनि उनले बताए ।

पूर्व लडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको उनले बताए । तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको बताए । आर्थिक समस्याका कारण किस्ताबन्दीमा लडाकुलाई रकम दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement