काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् ।
शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताए ।
उनले समावेशी लोकतान्त्रिक संरचनाको विकासका लागि स्वीट्जरल्याण्डको अभ्यास स्थापित भएको उल्लेख गर्दै नेपाल सरकारले लोकतन्त्रको सबलीकरण गर्दै राज्यका संरचनालाई भूइँतहका जनताप्रति उत्तरदायी बनाउने प्रयत्न गरिरहेको बताए ।
प्रधानमन्त्री ओलीले प्रत्यक्ष वैदेशिक लगानी बढाउन सरकारले आवश्यक सुधारात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा ५० मुलुकबाट उत्साहजनक सहभागिता भएको उल्लेख गरे ।
नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएकाले विकास साझेदारबाट सहयोग अभिवृद्धिको अपेक्षा व्यक्त गरे ।
भेटमा प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग, कोभिड—१९ को रोकथाममा सहयोग तथा शान्ति प्रक्रियामा सहयोग र सद्भावका लागि स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिए ।
प्रधानमन्त्री ओलीले गत जुलाइमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको स्वीट्जरल्याण्ड भ्रमण र सन् २०१९ मा आफू प्रधानमन्त्री हुँदा डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा सहभागिताको स्मरण गर्दै यस्ता उच्चस्तरीय भ्रमण र बैठक आदानप्रदानबाट आपसी सम्बन्धमा नयाँ आयाम थपिने बताए ।
राजदूत डानियलले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको लागि बधाई र शुभकामना दिँदै दुई पक्षीय पारस्परिक हित तथा सहयोग र सहकार्यलाई निरन्तरता दिने विश्वास दिलाए । भेटमा प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।
प्रतिक्रिया