प्रधानमन्त्रीको सम्बोधन : विश्वभर प्रशंसा, कालो चस्माको चर्चा

प्रधानमन्त्रीको सम्बोधन : विश्वभर प्रशंसा, कालो चस्माको चर्चा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ‘मिसाइल समयमै पुग्छन्, तर किसानले मल र इन्धन पाउँदैनन्’ संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन शाहले बोलेको यो वाक्य अहिले विश्वभर चर्चाको विषय बनेको छ ।

राष्ट्रसंघको महासभामा प्रायः सबैको ध्यान विश्वका ठूला शक्तितर्फ केन्द्रित हुने गर्छ । तर यसपटक चर्चाको केन्द्रमा नेपालका प्रधानमन्त्री बालेन शाह छन् ।

संयुक्त राष्ट्रसंघको जारी ८१ औ सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले व्यक्त गरेका विचारको अहिले सर्वत्र चर्चा भइरहेको छ । विशेषगरी उनका दुई भनाइको धेरै प्रशंसा भएको छ ।

उनको पहिलो भनाइ थियो–‘जुन जलवायु हामीले तातो बनाएका होइनौँ, त्यसको मारपनि हामीले खेपिरहेका छौँ र हामीले सुरु नगरेका युद्धको मार पनि ।’

उनको अर्को भनाइ थियो, ‘हामीले युद्धका लागि उत्कृष्ट लजिस्टिक्स भएको, तर भोजनका लागि जर्जर लजिस्टिक्स भएको संसार बनाएका छौँ ।’

थिंक ट्यांक मिडल इस्ट इन्स्टिच्युटको टर्किस प्रोग्रामकी संस्थापक निर्देशक गोनुल तोलले नेपालका प्रधानमन्त्री शाहका यी भनाइ सामाजिक सञ्जालमा साझा गर्दै लेखेकी छन्, ‘विश्वको वर्तमान अवस्थालाई यसभन्दा प्रभावशाली ढंगले बयान गर्न कठिन छ ।’

प्रधानमन्त्री बनेपछि आफ्नो पहिलो विदेश भ्रमणका क्रममा न्यूयोर्क पुगेका शाहले सम्बोधनमा दुई ठूला युद्धबीच फसेको विश्वमा जलवायु परिवर्तनको मार खेपिरहेको नेपालको त्रासदीको स्मरण गराए । उनले यसलाई सम्पूर्ण विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गरे ।

नेपालमा एक महिनाअघि गत भदौ १इ गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको थियो । १४०० जनाको मृत्यु र हजारौँ अझै बेपत्ता रहेको उल्लेख गर्दै शाहले विपत्तिको गम्भीरता विश्वसामु राखे ।

नेपालमा आएको भीषण बाढीबाट भएको विनाशको स्मरण गर्दै शाहले भने, ‘अन्तरमहादेशीय मिसाइलहरू समयमै पुग्छन् ।

राइफल र गोली-बारुदले हरेक अवरोध पार गर्दै निर्धारित समयमा गन्तव्यमा पुग्छन् । तर नेपालका एक किसानले आवश्यक परेको बेला बजार मूल्यमा मल वा इन्धन किन्न सक्दैनन् ।’

उनले भने, ‘हामीले यस्तो संसार बनाएका छौँ, जहाँ युद्धका लागि लजिस्टिक्स उत्कृष्ट छन्, तर भोजनका लागि लजिस्टिक्स पूर्ण रूपमा चरमराएको छ ।’

यो केवल नेपालको समस्या नभएको भन्दै उनले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाको उदाहरण दिए ।

उनले भने, ‘भोटेकोशी र त्रिशूलीको बाढी केवल स्थानीय त्रासदी थिएन, यो सम्पूर्ण विश्वका लागि चेतावनी थियो । म आज तपाईंहरूलाई सोध्छु-के हामीले त्यो चेतावनी वास्तवमै सुनेका छौँ ?’

शाहले भने, ‘जलवायु न्याय संयुक्त राष्ट्रसंघका दस्तावेजमा लेखिएको एउटा सुन्दर अवधारणा मात्र भएर रहन सक्दैन । हाम्रा देशका मानिसहरूले आफ्नो भविष्य निर्माण गर्ने अवसर पाउनुपर्छ, बारम्बार ध्वस्त भएको अतीत पुनर्निर्माण गर्नमै व्यस्त भइरहनु हुँदैन ।’

प्रधानमन्त्री शाहको यी वक्तव्यको देशभित्र र बाहिर व्यापक चर्चा भएको छ । कतिपयले शाहको सम्बोधनमा कूटनीतिक रणनीति पनि ध्यान दिनलायक रहेको बताएका छन् ।

पत्रकार कनक मणि दीक्षितले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘प्रधानमन्त्री बालेन शाहको भाषण राम्रोसँग तयार गरिएको थियो । उनले रसुवा विपत्ति, त्यसका जलवायु परिवर्तनसँग सम्बन्धित कारण र त्यसका व्यापक प्रभावलाई केन्द्रमा राखे । भारत र चीनसँग मिलेर काम गर्ने अपिल विश्व मञ्चबाट भन्नुपर्ने महत्त्वपूर्ण कुरा थियो ।’

उनका अनुसार अन्तर्राष्ट्रिय मुद्दाको लामो सूची प्रस्तुत गर्नुको सट्टा शाहले आफ्नो सम्बोधनलाई एउटा स्पष्ट मुद्दामा केन्द्रित गरेका थिए ।

यस्तै पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले पनि प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघ महासभामार्फत विश्व समुदायको ध्यान पर्यावरणीय संकटतर्फ सफलतापूर्वक आकर्षित गरेको बताएका छन् ।

पर्यावरणविद् तथा जलवायु अभियन्ता आनन्द नेपालीले एक्समा लेखेका छन्, ‘कमै मात्र सम्बोधन गर्ने व्यक्तिले यति ठूलो अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना विचार यति स्पष्ट रूपमा प्रस्तुत गर्न सक्छन् त ? यो प्रश्न मलगायत धेरै नेपालीको मनमा थियो होला । उनको सम्बोधन सुन्न म निकै उत्साहित थिएँ । अन्ततः जब मैले उनको सम्बोधन सुनेँ, मेरो मन गर्वले भरियो ।’

‘जे भए पनि, भत्किएको विश्वव्यवस्थाबारे बालेन शाहको सम्बोधनले एउटा निकै महत्त्वपूर्ण विषय उठाएको छ, विशेषगरी विश्वभर भइरहेका घटनाक्रमलाई हेर्दा’, उनले लेखेका छन्,‘ उदाहरणका लागि, जारी अमेरिका–इरान युद्धलाई लिन सकिन्छ ।

एकातिर, अमेरिकाले अर्कान्सासमा निर्मित वायु रक्षा क्षेप्यास्त्र केही दिनमै साउदी अरबको मरुभूमिसम्म पुर्‍याउन सक्छ । तर अर्कोतिर, युद्धका कारण सिर्जित आपूर्ति अवरोधले नेपालका किसानहरू एक बोरा मल लिन लामो समयसम्म लाइनमा बस्नुपरेको छ । त्यस्तै, कतारको एउटा बन्दरगाहबाट बाहिर निस्कन नसकेको प्राकृतिक ग्यासका कारण विद्युत् उत्पादन केन्द्रमा इन्धन सकिँदा बंगलादेशका मानिसहरू घण्टौँसम्म विद्युत्विहीन हुनुपरेको छ ।’ उनले सुझाव छ–त्यसैले बालेनले औँल्याएझैँ, विश्वव्यवस्थालाई गम्भीर रूपमा सुधारको आवश्यकता देखिन्छ ।

डब्लिन विश्वविद्यालयमा अनुसन्धानरत महेश कुशवाहाले पनि सामाजिक सञ्जालमा बालेनको भाषणको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सम्बोधनमा उठाइएका केही महत्त्वपूर्ण विषयलाई स्थान दिएको बताएका छन् ।

उनले भाषणका विशेषताका रूपमा नेपाललाई प्राप्त विश्वव्यापी सहयोगप्रति आभार व्यक्त गर्नु, टकरावपूर्ण भाषाबाट जोगिनु, नेपालले सामना गरिरहेको जलवायु संकटको आकार र त्यसको विश्वव्यापी महत्व स्पष्ट पार्नु तथा भारत र चीनसँग मिलेर जलवायु नेतृत्वका व्यावहारिक पहल अघि बढाउने सुझावलाई उल्लेख गरेका छन् ।

हालैका विपत्तिका लागि प्रत्यक्ष रूपमा ‘क्षतिपूर्ति’ माग्नुको सट्टा त्यससँग जुध्न आर्थिक सहयोग जुटाउन गरिएको अपिललाई पनि उनले महत्त्वपूर्ण पक्षका रूपमा उल्लेख गरेका छन् ।

भारतीय अनलाइन पत्रिका दैनिक भास्करले पनि प्रधानमन्त्री शाहको भाषणलाई उल्लेख गर्दै जलवायु विपद्बाट प्रभावित गरिब देशहरूलाई पुनः उभिन कर्जा होइन, अनुदान दिनुपर्ने प्रधानमन्त्रीको भनाइ सार्थक रहेको जनाएको छ ।

भारतकै एनडीटिभीले ३६ वर्षीय शाहले यस वर्षको महासभामा सबैभन्दा कम उमेरका सरकार प्रमुखका रूपमा सम्बोधन गरेको जनाउँदै विश्व मञ्चको उपयोग गर्दै दक्षिण एसियाली राष्ट्रहरूका लागि जलवायु न्यायको पक्षमा आवाज उठाएको भन्दै प्रशंसा गरेको छ ।

भारतको इन्डिया टुडेले लेखेको छ, ‘बालेनको सम्बोधन मुख्यतः जलवायु परिवर्तनका जोखिम न्यूनीकरण गर्न विश्वका राष्ट्रहरूले मिलेर काम गर्नुपर्ने र सबैभन्दा बढी जोखिममा रहेका देशहरूलाई सहयोग गर्नुपर्ने आवश्यकतामा केन्द्रित थियो । तर न्यूयोर्क सहरमा भेला भएका विश्वभरका कूटनीतिज्ञ तथा राष्ट्रप्रमुखहरूलाई उनले अर्को सन्देश पनि दिए–धनी होस् वा गरिब, शक्तिशाली होस् वा कमजोर–हरेक देशले आवश्यक परेको बेला आफ्ना अत्यावश्यक वस्तु प्राप्त गर्न सक्ने अवस्था हुनपर्छ ।’

 र्‍ यापरबाट राजनीतिमा आएका नेताले विद्यमान विश्वव्यवस्थालाई यस्तो व्यवस्थाका रूपमा चित्रण गरे, जहाँ मानिसहरूले ‘युद्धका लागि त्रुटिहीन आपूर्ति प्रणाली भएको तर खाद्यान्नका लागि भत्किएको आपूर्ति प्रणाली भएको विश्व निर्माण गरेका छन्’, इण्डिया टुडेले लेखेको छ ।

कालो चश्माको पनि चर्चा

शाहको भाषणसँगै उनको कालो चश्मा पनि चर्चाको केन्द्रमा रह्यो । अमेरिकाको न्यूयोर्क टाइम्स र भारतको एनडीटिभीले शाहको कालो चश्माबारे विशेष रूपमा चर्चा गरेको छ । पत्रिकाका अनुसार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दा प्रधानमन्त्री शाहको आँखामा रहेको गाढा रङको चश्मा नेपालीहरूका लागि पहिल्यै परिचित थियो ।

महासभामा सम्बोधनका क्रममा शाहले कालो चश्मासँगै कालो सूट र नेपालको परम्परागत टोपी लगाएका थिए । शाह क्यामेराको अगाडि र विदेशी राजदूतहरूसँगको बैठकमा चश्मा लगाउने तर मन्त्रिपरिषद्का बैठक तथा निजी कुराकानीका क्रममा चश्मा उतार्ने गरेको उल्लेख न्यूयोर्क टाइम्सले गरेको छ ।

यो चश्माले उनको रहस्यमय छविलाई अझ बलियो बनाएको पनि समाचारमा उल्लेख छ । अब कालो चश्मा उनको पहिचानकै एउटा हिस्सा बनेको छ । नेपालका प्रमुख अनलाइन बजारमध्ये एक दराजमा ‘बालेन शाह ग्लासेस’ खोज्दा उनका चश्मासँग मिल्दोजुल्दो डिजाइनका धेरै विकल्प देखिने न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

एनडीटिभीले प्रधानमन्त्री शाहले तीन वटा अवसरमा मात्र चस्मा उतार्ने गरेको उल्लेख गरेको छ । ‘ तीनवटा यस्ता अवसर पनि छन्, जब उनले सनग्लास उतारेर जनतासामु प्रत्यक्ष आँखामा आँखा जुधाउँदै सम्बोधन गर्छन’, एनडीटिभीले आफ्नो समाचारमा जनाएको छ ।

मधेशमा भएको हिन्दू–मुस्लिम झडपपछि जनतालाई सम्बोधन गर्दा उनले चस्मा उतारेका थिए । त्यसको अर्को महिना बाढीले क्षति पुर्‍याएका क्षेत्रहरूको भ्रमणका क्रममा पनि उनले चस्मा उतारेका थिए ।

त्यसैगरी, तेस्रो अवसरमा केही महिनाअघि उनले आफ्ना समर्थकहरूलाई ‘म तपाईंहरूलाई माया गर्छु’ भन्न सनग्लास उतारेको एनडीटिभीले उल्लेख गरेको छ ।