काठमाण्डु – नेपाल सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आईतबार भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था गरिएको जनाएको छ ।
सरकारले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
सरकारले घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले ७ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेशसहित छानबिन समिति गठन गरिसकेको र समितिले काम सुरु गरिसकेको जनाएको छ । घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।
सरकारले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने स्पष्ट गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकतालाई कमजोर पार्ने गतिविधिमा संलग्न नहुन सबै पक्षलाई आग्रह गरेको छ । भ्रामक सूचना वा अफवाह नफैलाउन र त्यस्ता सूचनाबाट प्रभावित नभई उच्च संयमता अपनाउन पनि अपिल गरिएको छ ।
सरकारले वर्तमान परिस्थितिमा मुलुकमा शान्ति, सुरक्षा तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था, आमसञ्चार माध्यम र सर्वसाधारणलाई सहयोग गर्न आह्वान गरेको छ ।





प्रतिक्रिया