प्रधानमन्त्री कार्यालय झनै शक्तिशाली, बजेट १ खर्ब ५६ अर्ब छुट्टाईयो


काठमाडौं – केन्द्र सरकारले सोमबार ल्याएको आर्थिक वर्ष २०७५\७६ को बजेटले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रधानमन्त्रीलाई अझै शक्तिशाली बनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमा मन्त्रालयगत रूपमा सबैभन्दा बढी रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०७५\७६ को निकायगत बजेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई १ खर्ब ५६ अर्ब २८ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ । २०७४\७५ को बजेटमा भने ७७ अर्ब २७ करोड ९३ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

यसअघि राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागलगायत महत्वपूर्ण निकाय प्रधानमन्त्री कार्यालय मातहत ल्याएको थियो । यसैगरी थिंक ट्यांङ्क गठन गर्ने तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकायको अनुगमन गर्ने जिम्मेवारी पनि कार्यालय मातहत ल्याइएको थियो । सरकारले कार्यसम्पादन नियमावली संशोधन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई रेसिडियल (अवशिष्ट) अधिकारसमेत प्रदान गरेको थियो ।

कार्यालयले केही समयअघि मात्रै नया संगठन संरचना बनाउदै सयभन्दा बढी कर्मचारीको दरबन्दी थप गरेको थियो । साथै महाशाखा थप गरी तिनको संख्या ११ पुर्‍याएको थियो । विभिन्न महत्वपूर्ण निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएकाले यहाँको बजेट वृद्धि भएको सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

कार्यविभाजन नियमावलीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गर्ने काम ४८ वटा छन् । सरकारले हालै ल्याएको नीति तथा कार्यक्रमलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न विभिन्न अनुगमन टोली गठन गरी देशभरि परिचालन गर्ने तयारीसमेत कार्यालयले गरेको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले पनि ठूलाठूला जिम्मेवारी थप भएकाले त्यसअनुसार जिम्मेवारी पूरा गर्न पनि प्रधानमन्त्री कार्यालयको बजेट बढ्नु स्वाभाविक भएको बताए ।आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement