पोखरा विमानस्थलः २२ अर्ब लगानी, ८ महिनामा करिब २ लाख मात्रै आम्दानी !


पोखरा विमानस्थलबाट पुनःअन्तर्राष्ट्रिय उडान भएको छ । शनिबार बिहान पहिलोपटक भुटानको ड्रुक एयरले व्यवसायिक उडान भरेको हो । भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिवार बिहान पौने ७ बजे पोखरा ओर्लिएको ड्रुकले ४२ युरोपेली पर्यटक बोकेर आज बिहान सवा ८ बजे थिम्पु फर्किएको हो ।

भारत, नेपाल र भूटान घुम्ने गरी आएका युरोपेली पर्यटक ड्रुक एअर चार्टर गरी थिम्पु गएका हुन् । यसअघि गत असार ६ गते पहिलोपटक चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको चार्टड विमानले अवतरण गरेको थियो । शनिबार पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन व्यवसायीले विमानस्थलमा ड्रुक एअरका चालक दललाई स्वागत र थिम्पु जाने पर्यटकलाई बिदाइ गरेका थिए ।

संचालनमा आएको आठ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पहिलो पटक करिब २ लाख रुपैयां मात्रै आम्दानी गरेको छ ।

विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले ४२ यात्रुहरुबाट तीन हजारका दरले संकलन भएको र नेपाल एअरलाईन्सले ग्राउन्ड ह्यान्डलिङवाफतको १५ प्रतिशत दिन बाँकी रहेको जानकारी दिईन्। अन्र्तराष्ट्रिय उडानबाट हालसम्म कुल आम्दानी करिव २ लाखको हाराहारीमा पुग्नसक्ने उनको भनाई छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत परेको छ । ठूलो लागत परेको विमानस्थलको आम्दानी भने कम हुँदा त्यसले विमानस्थलको खर्च समेत धान्न नसक्ने अवस्था रहेको छ । यो तथ्यलाई केहीदिन अघि पोखरा पुगेका अर्थमन्त्री डा.प्रकाशशरण महतले पनि स्वीकारेका थिए।

ड्रुक एअरले चार्टड उडान गरेपनि नियमित उडानमा भने अँझैपनि शंका कायमै छ। शनिबारको उडानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गण्डकी प्रदेशका पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापाले भारतसँगको रुटबारे केही समस्या भएकाले छलफल भइरहेको बताएका छन्।

भारतसँग कुरा मिलेपछि चाँडै नै विमानस्थलबाट उडान शुरु हुने बताउदै थापाले विमानस्थल सञ्चालनका बारेमा सरकारसँग कुराकानी गरिरहेको बताए। विमानस्थल निर्माण गरिएपनि लगानी नै फिर्ता गर्न समेत समस्या देखिने भएकाले चीनसँग समेत उडानका लागि सहयोग माग्ने बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement