गण्डकी – एकातिर गर्मी छल्न आएका भारतीय पर्यटक, अर्कातिर ४ दिन लामो सार्वजनिक बिदा परेकाले पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल बढेको छ ।
लेकसाइडलगायत क्षेत्रका होटल बिहीबारयता पाहुनाले भरिभराउ छन् । होटल संघ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले यसबिच होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको बताए ।
‘बिहीबारदेखि आईतबारसम्म बिदा परेका कारण पोखरा घुम्न आउनेको संख्या बढेको छ, यतिबेला भारतीय पर्यटकको आगमन बढेको छ,’ उनले भने, ‘पोखरासँगै आसपासका गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।’
चैतदेखि जेठसम्मको समयलाई पदयात्राका लागि पनि उपयुक्त मानिन्छ । यो दोस्रो मुख्य पर्यटकीययाम पनि हो ।
सरकारले हप्तामा २ दिन बिदा दिन सुरु गरेपछि आन्तरिक पर्यटन गतिविधि बढेको अध्यक्ष सुवेदीले बताए । सरकारको निर्णयबाट पर्यटन क्षेत्रलाई चलायमान बनाइराख्न मद्दत पुग्ने उनको भनाइ छ । मनसुन भित्रिनुपूर्वको यसयाममा पोखरामा भारतीय पर्यटकको संख्या बढ्ने गरेको छ । झरी परिरहने पोखरा गर्मी छल्ने गन्तव्यका रूपमा भारतीयहरूको रोजाइमा पर्ने गरेको छ ।
पोखरा आउने भारतीय पर्यटकमध्ये झण्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेका छन् । पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन् । पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रबिन कडरियाले बताए ।
अन्नपूर्ण क्षेत्र घुम्न जाने दक्षिण एसियाली मुलुकका पर्यटकमध्ये ९० प्रतिशत जति भारतीय हुने गरेको उनको भनाइ छ । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी लगायतका गन्तव्यस्थल पर्छन् । कास्कीसहित ५ जिल्लामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र पर्यटकको रोजाइमा पर्दै आएको छ ।




प्रतिक्रिया