पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ : मन्त्री पौडेल

पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ : मन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरकारले सडक सञ्जालको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय बजारसँगको पहुँच विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको बताएका छन् ।

पोखराको पर्यटन प्रवर्द्धन तथा पर्यटन पूर्वाधार विकासका विषयमा पोखरा महानगरपालिकाद्वारा आईतबार आयोजित छलफलमा उनले पोखरासँग जोडिएका प्रमुख सडक सञ्जालको सुधार गर्दै पर्यटकको सहज आवागमन सुनिश्चित गरिने बताए ।

पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालसँग जोड्न मन्त्रालयले विशेष पहल गरिरहेको मन्त्री पौडेलले बताए । पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोगका लागि नियमित अन्तरदेशीय उडान हुनुपर्ने उनको भनाइ छ ।

मन्त्री पौडेलले पोखरा तालतलैया र नदीनालाको सहर भएकाले जलसम्पदामा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले पोखरामा स्वामीनारायण र ऋषि वात्सायनको मन्दिर निर्माणका लागि सरकारले बजेट सुनिश्चित गरिसकेको बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विकास साझेदारहरूसँगको सहकार्यमा केही महत्वपूर्ण पर्यटन पूर्वाधार निर्माण सम्पन्न भइसकेका जनाउँदै दीर्घकालीन महत्वका अन्य पूर्वाधारहरू निर्माणको क्रममा रहेका बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन विभिन्न गतिविधि सञ्चालन गरिएको उनको भनाइ छ ।

‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको विकासमार्फत पोखरालाई अन्तरराष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित महानगर निरन्तर क्रियाशील रहेको छ,’ प्रमुख आचार्यले भने । कार्यक्रममा पर्यटन क्षेत्रको दिगो विकास, पूर्वाधार विस्तार, हवाई पहुँच अभिवृद्धि तथा संघ, प्रदेश र स्थानीय तहबिचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।

छलफलमा पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ लगायतको सहभागिता थियो ।