काठमाण्डु – ओखलढुङ्गाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले विद्यालयको निरीक्षणका क्रममा प्रधानाध्यापक (हेडसर) सँग भएको विवादित घटनाप्रति औपचारिक रूपमा क्षमायाचना गरेका छन् ।
सांसद पोखरेलले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो बोली र व्यवहारमा संयम गुमेको स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागेका हुन् ।
संघीय संसद्को बैठक स्थगित भएको अवसरमा जिल्लाबासीको गुनासो सुन्न र सार्वजनिक संस्थाको अवस्था बुझ्न सांसद पोखरेल वैशाख ९ गते खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालय पुगेका थिए । सोही क्रममा विद्यालयका प्रधानाध्यापकलाई हप्काउँदै बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको चर्को आलोचना भइरहेको थियो ।
विज्ञप्तिमा सांसद पोखरेलले सामाजिक सञ्जालमा आएको भिडियो काटछाँट गरी आएकाले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत भएको दाबी गरे पनि आफ्नो व्यवहार मर्यादित हुन नसकेको स्वीकार गरे । उनले भने, ‘सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्थ्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्दछु । मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमायाचना गर्दछु ।’
आफू सधैँ जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाउँदै उनले विपक्षी वा कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भए पनि जनप्रतिनिधिले धैर्य र मर्यादा कायम राख्नुपर्ने आत्मसात गरेका छन् । घटनाका कारण पार्टी, शुभेच्छुक, विद्यालय परिवार र स्थानीय समुदायमा पुगेको चोटप्रति उनले विनम्रतापूर्वक क्षमा मागेका छन् ।
आगामी दिनमा अझ बढी संयमित, जिम्मेवार र संवादमुखी भएर जनताको सेवामा समर्पित रहने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् । रास्वपाले सुशासन र नयाँ राजनीतिक संस्कारको नारा दिइरहेका बेला आफ्नै सांसदबाट विद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा अमर्यादित व्यवहार भएको भन्दै पार्टीभित्र र बाहिरसमेत प्रश्न उठेपछि पोखरेलले माफी मागेका छन् ।





प्रतिक्रिया