पोल्याण्डमा अन्धाधुन्ध गोली चल्यो- ६ जनाको मृत्यु, दर्जनभन्दा बढी घाइते

पोल्याण्डमा अन्धाधुन्ध गोली चल्यो- ६ जनाको मृत्यु, दर्जनभन्दा बढी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– पोल्याण्डको दोस्रो ठूलो सहर क्राकोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्।

दक्षिणपन्थी अतिवादी समूहसँग सम्बन्ध रहेको आशंका गरिएका २५ वर्षीय युवकले क्राकोको मुख्य बजार क्षेत्रमा गोली चलाएका थिए। स्थानीय समयअनुसार दिउँसो ३ बजेअघि सुरु भएको आक्रमण पर्यटकहरूको बाक्लो चहलपहल रहने सहरको व्यस्त क्षेत्रमा भएको हो।

प्रहरीका अनुसार संदिग्ध व्यक्ति कार चलाउँदै बजार क्षेत्रमा प्रवेश गरेका थिए। त्यसपछि उनले कारभित्रैबाट सडकमा रहेका मानिसहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

आक्रमणका क्रममा गुडिरहेको एउटा ट्राममाथि समेत गोली चलाइएको थियो। गोली लागेर ट्रामका झ्यालहरू फुटे पनि यात्रुहरू भने सुरक्षित रहेका थिए।

घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र बन्दुकधारीबीच गोली हानाहान भएको थियो। अधिकारीहरूका अनुसार आक्रमण सुरु भएको तीन मिनेटभित्रै प्रहरीले संदिग्धलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको बीबीसीले जनाएकाे छ।

गोली लागेर घाइते भएका २५ वर्षीय युवकको शल्यक्रिया गरिएको छ। उनी हाल अस्पतालमा उपचाररत छन्।

यसैबीच, प्रहरीले संदिग्धको घरमा खानतलासी गर्दा थप तीन जनाको शव फेला पारेको जनाएको छ। ती शव र मुख्य घटनाबीचको सम्बन्धबारे विस्तृत विवरण भने सार्वजनिक भएको छैन।

बीबीसी भेरिफाइले प्रमाणीकरण गरेको घटनास्थलको भिडियोमा एक प्रहरी अधिकारीले भुइँमा रहेका संदिग्धलाई सामना गरी पटक–पटक गोली चलाएको देखिन्छ। त्यसपछि ती प्रहरी अधिकारी पनि भुइँमा ढलेका छन्। उनीसमेत घाइते भएको आशंका गरिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।