मास्क नलगाई हिँड्ने करिब २४ हजार जनालाई प्रहरीले गर्‍यो कारबाही


काठमाण्डु – कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर विभिन्न सचेतना कार्यक्रम संचालन गरेको छ ।

कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गर्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले देशभर सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । माइकिङ र प्लेकार्ड सहित पछिल्लो २४ घण्टामा गरिएका ७ सय २ वटा सचेतनामूलक कार्यक्रमबाट जम्मा १ लाख ४७ हजार २ सय ९५ जना लाभान्वित भएका प्रहरीले जनाएको छ ।

कोभिड–१९ को संक्रमण रोक्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो ।

अभियानको क्रममा पछिल्लो २४ घण्टामा ११ हजार ७ सय २२ जनालाई प्रहरीले निःशुल्क मास्क वितरण गरेको छ । मास्क नलगाई हिँडडुल गर्ने २३ हजार ९ सय ४१ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई पठाइएको प्रहरीले जनाएको छ ।

साथै तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार ४ सय ६५ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन प्रहरीले सबैमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement