विपद्पश्चात नागरिकको दिनचर्या सहज बनाउन प्रहरी निरन्तर सक्रिय

विपद्पश्चात नागरिकको दिनचर्या सहज बनाउन प्रहरी निरन्तर सक्रिय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी नदीमा आएको बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएर आएको विपद्पश्चात नागरिकको दिनचर्या सहज बनाउन नेपाल प्रहरी निरन्तर सक्रिय रहेको छ ।

बाढीका कारण नागरिकको घरमा थुप्रिएको ढुंगा, माटो, बालुवा तथा भवनका भग्नावशेषहरू हटाउँदै बाढीपछिको अवस्थालाई सामान्य बनाउन आफ्नो सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरी नागरिकको सहयात्री बनेर जनजीवनलाई चाँडोभन्दा चाँडो सामान्य बनाउन निरन्तर रूपमा खटिरहेको छ ।

नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन बाढी प्रभावित क्षेत्रमा ढुंगामाटो हटाउने, घरका भग्नावशेष सफा गर्ने, विद्यालय एवम् स्वास्थ्य संस्थाहरू लगायतका सार्वजनिक महत्वका भवनहरू सरसफाइ गरी पुन: सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखेर प्रहरीले जिम्मेवारी बहन गरिरहेको छ । प्रहरीले स्थानीय तह, स्थानीय बासिन्दा अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै तीव्र रूपमा काम गरिरहेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्छन्, ‘बाढी प्रभावित क्षेत्रहरूमा नागरिकको जीवनयापनलाई सहज बनाउन नेपाल प्रहरी थप क्रियाशील भएर लागि परेको छ । पीडितहरूको घर सफा गर्ने, भग्नावशेषबाट भेटिएका नागरिकका धनमाल सम्बन्धित धनीलाई बुझाउने, स्कूल, स्वास्थ्य संस्थाहरूमा जम्मा भएका ढुंगामाटो हटाउन नेपाल प्रहरी अहोरात्र खटिरहेको छ । यस विषम परिस्थितिमा नागरिकको सुरक्षा, विपद्बांट सिर्जित मनोवैज्ञानिक त्रास समेतलाई मध्यनजर गरी नागरिकलाई सामान्य जीवनयापनमा फर्काउन नेपाल प्रहरी प्रयासरत छ ।’

भोटेकोशी बाढीले भौतिक तथा मानवीय क्षति मात्र नभई प्रभावित क्षेत्रका वासिन्दा ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरूमा गम्भीर मनोवैज्ञानिक त्रास समेत सिर्जना गरेको छ । बाढीमा घर, परिवार र सम्पत्ति गुमाउँदा प्रभावित क्षेत्रका वासिन्दाहरूमा मानसिक तनाव उत्पन्न हुन सक्ने जोखिमलाई समेत ध्यानमा राखेर पीडितहरूलाई मनोपरामर्श सेवा प्रवाह गर्दै उनीहरूको दैनिक जीवनयापनमा समेत सहजीकरण गरिरहेको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बाढी प्रभावित क्षेत्रमा रहेका सामुदायिक प्रहरी शाखा मार्फत स्थानीय समुदाय विशेष गरी महिला, बालबालिका युवा, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै नागरिकलाई पुन:स्थापनमा सहजीकरण गर्न प्रहरीले महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

बाढी प्रभावित क्षेत्र अन्तर्गत विभिन्न जिल्लाहरूका होल्डिङ सेन्टर लगायत अन्य स्थानहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूविरूद्ध हुन सक्ने दुर्व्यवहार, हिंसा लगायतका घटनाप्रति थप संवेदनशील भई कार्य गर्नुका साथै उद्धार गरिएका व्यक्तिहरूलाई पारदर्शी राहत वितरणमा स्थानीय तह एवम् सरोकारवाला निकायसँग समन्वय गर्दै व्यवस्थित रूपमा कार्य गरिरहेको छ ।

बाढी प्रभावित जिल्लाहरूमा हालसम्म समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १९६ वटा कार्यक्रममार्फत ४७ हजार ७७४ जना व्यक्तिहरू लाभान्वित भएका छन् ।

स्थानीय वासिन्दा अझै पनि त्रास र चिन्तामा छन् । एक स्थानीय महिला भन्छिन्, ‘बाढीले धेरैको घरहरू बगायो । केही  घरहरू माटोले पुरिएका छन् । हामी घरहरू खोतल्दै गर्दा प्रहरीहरू आएर हामीलाई हिलो सरसफाई अनि सामानहरू सार्न सहयोग गरिरहेका छन् । प्रहरीसँग मिलेर काम गर्दा छिटो पनि हुनेरहेछ ।’