बाजुरा – प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय बाजुरा परिसरमा नवनिर्मित कार्यालय, निवास, ब्यारेक, हिरासत कक्ष तथा मेश भवनहरूको सोमबार उद्घाटन गरेका छन् ।
कार्यक्रमको अवसरमा उनले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई प्रशंसापत्र प्रदान गरेका छन् ।
कार्यक्रममा उनले नयाँ भवनबाट सम्पादन हुने प्रहरी कार्य पनि थप ऊर्जामय, नविन सोच र उच्चस्तरको हुनुपर्ने चर्चा गर्दै नागरिकको सुरक्षामा अझ बढी मेहनत र व्यावसायिकताको साथ प्रस्तुत हुनुपर्ने बताए । नागरिकमैत्री, सेवामुखी भावका साथ सम्पूर्ण स्थानीयले भय र त्रासरहित वातावरणमा आ–आफ्नो दैनिक क्रियाकलाप, उद्योग, व्यापार, रोजगार तथा व्यवसाय गर्न पाउने वातावरण निर्माणमा अहोरात्र कटिबद्ध रहन उपस्थित प्रहरी अधिकृतलाई उनले निर्देशन दिए ।
प्रहरी महानिरीक्षक कुँवरले समाजमा अशान्ति र अराजकता फैलाउने उच्छृंखल तथा आपराधिक समूह, सामाजिक हित विपरीतका गैरकानूनी र अनैतिक कार्य गर्नेविरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै किसिमको दबाब र प्रभावमा नपरी शून्य सहनशिलताका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
नागरिकसँगको उचित समन्वय र सहकार्यमा कानून विपरीतका गतिविधि नियन्त्रण गरी समाजमा प्रभावकारी शान्ति सुरक्षा व्यवस्था कायम गर्न सकिने उल्लेख गर्दै उनले स्थानीय जनसमुदायलाई प्रहरीसँग निरन्तर समन्वय, सहकार्यको लागि आग्रह गरे ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रममा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भीमकान्त पौडेल र बडिमालिका नगरपालिकाका प्रमुख अम्मर खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव उपरीक्षक सुमन दाहालले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल सरकारको नियमित बजेटबाट कूल ८ करोड ७६ लाख ६७ हजार ६६४ रूपैयाँ लागतमा भवनहरू निर्माण कार्य सम्पन्न भएका छन् ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयको उपस्थिति थियो ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी अधिकृत तथा जवानलाई समसामायिक विषयमा आवश्यक निर्देशन समेत दिए ।
प्रतिक्रिया