पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि


काठमाण्डु- नेपाल पुलिस क्लबले अपराजित रहँदै छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ ।

पुलिसले शनिबार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको हो । विजेता पुलिसले १० लाख र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्रिवि क्रिकेट मैदानमा १८२ रनको लक्ष्य पछ्याएको पुलिसले ३७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । पुलिसको जितमा शंकर रानाले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनको अविजित इनिङ खेले । जितको लागि ६ रन चाहिँदा उनले कुशल मल्ललाई स्टेटमा छक्का हान्दै खेल अन्त्य गरेका थिए । आरिफ शेख ५४ बलमा १ चौका र १ छक्कासहित २७ रनमा नटआउट रहे ।

पुलिसले ओपनर दीलिप नाथलाई ७ र कुशल भुर्तेललाई १४ रनमै गुमाएको थियो । तेस्रो विकेटका लागि अर्जुन साउद र अमित श्रेष्ठले ५९ रनको साझेदारी गर्दै जित सहज बनाएका थिए । अमित ५१ बलमा २ चौकासहित २८ रनमा आउट भए ।

अमितको ८ रनमा विवेक यादवले क्याच छाडेका थिए । अर्जुन ५८ बलमा ४ चौकासहित ३६ रनमा आउट भए । आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, साहब आलम र बसिर अहमदले १–१ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको आर्मी ४९.५ ओभरमा १८१ रनमा अल आउट भएको थियो । आर्मीका अलराउन्डर विवेक यादवले ८१ बलमा ७ चौका र १ छक्कासहित ६३ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । तीव्र गतिका बलर सोमपाल कामीले ५८ बलमा १ चौका र १ छक्कासहित ३९ रन बनाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement